arrow

चार खेलाडीसहित आठ सदस्यीय जुडो टोली बैंककमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
judo-team-bangkok-farewell.JPG

काठमाडौं । थाइल्यान्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहालले ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । 

सदस्य–सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीको हौसल अभिबृद्धि गरे । क्याडेटमा २ र जुनियरमा २ गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । क्याडेट–जुनियरमा १–१ पुरुष–महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

जुनियरको पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ सहभागी हुने छन् । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले खेल्ने छन् । घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग (पाम) को प्रतिनिधित्व गर्छन् । देवकी र निशा सहोदर दिदीबहिनी हुन् ।

टोली प्रमुखमा नेपाल जुडो संघका अध्यक्ष समेत रहेका जुडो युनियन अफ एसिया ९जेयुए० का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष वज्राचार्य रहेका छन् । 

टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ छन् । जुडो संघका खेलकुद निर्देशक सुप्रसिद्द ताम्राकार पनि टोलीसंग बैंकक जाने छन् । साउन १ देखि ७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शुक्रबारै थाइल्यान्ड गएको छ । 



नयाँ