arrow

पर्यटन पूर्वाधार र जलविद्युतमा लगानी गर्न गैर आवासीय नेपालीहरूलाई ग्लोबल आइएमईको आग्रह

लण्डनमा ग्लोबल आइएमई बैङ्कको बृहत् अन्तरक्रिया कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
chandra-dhakal-uk-nrna-global-ime-bank.jpg

काठमाडौँ। विदेशी मुद्रामा नेपाली बैङ्कमा खाता खोल्न गैर आवासीय नेपालीहरूलाई आह्वान गर्दै ग्लोबल आइएमई बैङ्कले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

ग्लोबल आइएमई बैङ्क लिमिटेडको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैङ्कले विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी नेपाली बैङ्कमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनुका साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैर आवासीय नेपालीहरूलाई आह्वानसमेत गरिएको थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैङ्कमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दिगो रूपमा नेपालमै वैदेशिक मुद्राको श्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत आयोजनामा लगानी गर्न गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन्।

वरिष्ठ उपाध्यक्ष ढकालले धेरै मुलुकहरूको दाँजोमा नेपालमा लगानीको सम्भावना बढी रहेको र प्रतिफल पनि राम्रो रहेको बताए।

“हामीले चन्द्रागिरिमा एकीकृत पर्यटकीय गन्तव्य विकास गरेका छौँ र यस्तै मोडलको एकीकृत पर्यटन पूर्वाधार नेपालका ७ वटै प्रदेशमा निर्माण गर्न गइरहेका छौँ। गैर आवासीय नेपालीहरूसँगको सहकार्यमा लम्जुङ्ग जिल्लामा निर्माण भएको जलविद्युत आयोजना सम्पन्न हुने क्रममा रहेको छ भने म्याग्दी जिल्लाको कालिगण्डकी नदीमा दुई वटा जलविद्युत आयोजना निर्माण गर्दै छौ,” उनले भने, “तपाईँहरूले पनि नेपालमा लगानी बढाउनुस्। राज्यलाई पनि सहयोग गर्नुहोस्।”

उनले नेपाल सरकार, नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा संचितिमा आएको कमीलाई मध्यनजर गर्दै नेपाली बैङ्कमा विदेशी मुद्रामा खाता खोल्न मिल्ने प्रावधान ल्याएको बताउँदै यसमा सहयोग गर्न गैर आवासीय नेपाली सङ्घ तथा सम्पूर्ण नेपालीहरूलाई आग्रह समेत गरे।

“यता विदेशमा विना व्याजमा यहाँका बैङ्कमा राखेको पैसा यदि नेपालमा नेपाली बैङ्कमा विदेशी मुद्रामा नै राख्ने हो भने त्यसको व्याज समेत पाइन्छ। आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ। भिसा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरूले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरूले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ,” उनले भने।

उनले मुलुकको अर्थतन्त्रमा देखिएको सङ्कट टार्न र मुलुकलाई थप आर्थिक सङ्कटबाट मुक्त गर्न सबै नेपालीहरूले भूमिका खेल्नुपर्ने बताए।

“यसका लागि तपाईँहरूले नेपाली बैङ्कमा विदेशी मुद्रामा खाता खोलिदिनुपर्‍यो । नेपालमा थप वैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपर्‍यो,” उनले भने।

बेलायतस्थित नेपाली राजदूतावासका डिसिएम रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैर आवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए।

उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउन गैर आवासीय नेपालीलाई समेत आग्रह गरे। डिसिएम खनालले ग्लोबल आइएमई बैङ्कले विदेशी मुद्रा भित्र्याउन गरेको पहलको प्रशंसा गर्दै दूतावास पनि यसमा सहकार्य गर्न तत्पर रहेको बताए।

उनले बैङ्कको यस पहलले अहिले मुलुकभित्र देखिएको विदेशी मुद्रा सञ्चितमाथिको दबाबलाई कम गर्न सहयोग पुग्ने विश्वास समेत राखे। उक्त अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैङ्कले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पारेका थिए।

उक्त अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ युकेका अध्यक्ष प्रेम गाहा मगर, ब्रिटेन नेपाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष विराज भट्ट, ह्याम्पसायर पोलिस कन्टाबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, लण्डन बोरो अफ बार्नेटका काउन्सिलर लक्ष गुरुङ्ग, टीएनबी ग्यारिसनका कमाण्डिङ् अफिसर तोल काम्चालगायतले आफ्नो धारणा राखेका थिए। उनीहरूले बैङ्कले विदेशमा रहेका नेपालीहरूको सेवा र सजिलोको लागि नेपाली बैङ्कमा विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरेकोमा बैङ्कको प्रशंसा गर्दै यसले गैर आवासीय नेपालीको आवश्यकतालाई पूर्ति गर्ने र नेपाललाई सम्भावित आर्थिक सङ्कट टार्न सहयोग पुग्ने बताएका छन्।

कार्यक्रममा बैङ्कका युके प्रतिनिधि अमित चालिसेले नेपाल राष्ट्र बैङ्कले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पार्दै बैङ्कका सेवाहरूबारेमा प्रस्तुतीकरण गरेका थिए।

मुलुकभित्र ७७ जिल्लामा २८९ शाखा रहेको नेपालकै पहिलो निजी क्षेत्रको बैङ्कले २६२ एटिएम, २७५ शाखा रहित बैङ्किङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २९ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ