arrow

जनार्दनसँग समितिले लियो बयान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
janardan-ji.PNG

काठमाडौं । बजेटमा करको दर हेरफेरको आरोप लागेपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका जनार्दन शर्मासँग संसदीय विशेष छानबिन समितिले बयान लिएको छ । निवर्तमान अर्थमन्त्री शर्मासँग बिहीबार समितिले बयान लिएको हो । 

बयानमा शर्माले बजेट निर्माणका क्रममा बाहिरका मान्छे प्रवेश नगरेको बताएका छन् । उनले भने,' बाहिरको मान्छे पस्ने सम्भावना छैन, पसेको भए सबैलाई थाहा हुन्थ्यो। सुरक्षाकर्मीहरू पनि त्यही हुन्छन् ।' 

शर्माले अर्थ मन्त्रालयको जेठ १४ गते रातिको सीसीटीभी फुटेज बारे आफूलाई केही जानकारी नभएको बताएका छन् । उनले आफूलाई सीसीटीभी कति दिनसम्म रहन्छ भनेर के थाहा ? भनेर जवाफ दिएका छन् ।  शर्माले आफूमाथि लगाएका आरोप खारेज गर्न चाहेको बताएका थिए ।

यसअघि समितिले अर्थ मन्त्रालयका अधिकारीसँग बयान लिएको थियो । समितिले अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल, प्रशासन महाशाखा प्रमुख केदार शर्मा, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, राजस्व व्यवस्थापन महाशाखाका उपसचिव सरद निरौला, गोपाल खत्री, आन्तरिक राजस्व विभागका सूचना प्रविधि उपसचिव ठेकूँ श्रेष्ठसँग समितिले सोधपुछ गरेको थियो ।  बयानका क्रममा ती अधिकारीहरूले मन्त्रालयमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नभएको दाबी गरेका छन् । 

यता बयानबाट केही नखुलेपछि संसदीय विशेष समिति सीसीटीभी फुटेजको खोजीमा छ । सफ्टवेयरको विधिबाट समितिले सीसीटीभी फुटेज  खोज्न थालेको छ । समितिले हर्डडिक्स रिकोभर लागतका उपायहरूका लागि विज्ञसँग परामर्शमा छ । 

अहिलेसम्ममा १० दिनको म्याद पाएर असार २२ मा गठन भएको समितिको म्याद आज सकिँदै छ । बजेटमा करको दर हेरफेरका सम्बन्धमा ११ सदस्यीय समिति गठन गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ