अप्ठेरो बाटोमा नहिँड्न भन्दाभन्दै गएका दुई जनाको भीरबाट लडेर खोलाले बगाउँदा मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
1.3k
Shares
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भीरबाट खस्दा एक महिलासहित बालकको मृत्यु भएको छ । चौतारा साङ्गाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनकी बहिनीको छोरा मेलम्ची नगरपालिका–११ बस्ने ५ वर्षीय विशेष चालिसेको भीरबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृतक महिला बालकको ठूलीआमा रहेको र उनीहरु इन्द्रावती गाउँपालिका–१० भोटसिपामा रहेको माइत जाँदै गर्दा भीरबाट खसेर खोलाले बगाएको उनीहरुसँगै रहेकी बालकको आमा पार्वती चालिसेले बताएकी छन् ।
दुवै जनाको शव केही तल खोलामा भेटीएपछि परीक्षणका लागि मेलम्ची लगिएको इलाका प्रहरी कार्यालय नवलपुका प्रहरी निरीक्षक इन्द्रजीत इटनीले जानकारी दिए ।
घटना दिउँसो भएको हो । शव केही तल इन्द्रावती खोलामा भेटिएको थियो । बाटो निकै अप्ठेरो रहेको र अझै दुर्घटना हुनसक्ने भन्दै स्थानीयले उक्त बाटो प्रयोग नगर्न आग्रह गरेका छन् । रासस