- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको चेन्नईमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीको अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । नेपाल बुद्धिचाल संघको आयोजनामा सोमबार काठमाडौंको ठमेल पार्क होटलमा शुरु भएको कार्यक्रममा ओलम्पियाड टोलीका खेलाडी तथा अफिसियलहरुको सहभागीता रहेको छ ।
दुई दिने कार्यक्रममा मनोविज्ञान, प्रेरित, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतिमाथि छलफल हुनेछ । कार्यक्रमको पहिलो दिन मनोविद डा नरेन्द्र ठगुन्ना, नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, उपाध्यक्ष नारायणदास गमाल, महासचिव धरमबहादुर लामा तथा सचिव उमेश केसीले विभिन्न विषयमा आ–आफ्नो धारणा राखे ।
कार्यक्रमको दोश्रो दिन पूर्व राष्ट्रिय च्याम्पियन एवं ओलम्पियाड खेलाडीद्धय सुरवीर लामा तथा केशव श्रेष्ठ लगायतले अनुभव बाँड्ने कार्यक्रम रहेको छ ।
आगामी जुलाईको २८ तारिखमा उद्घाट्न भई अगस्त ९ तारिखमा सम्पन्न हुने ओलम्पियाडको पुरुषतर्फको टिममा वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौंलागाईं सहित फिडेमास्टरद्धय रुपेश जयसवाल तथा क्षितिज भण्डारी एवं क्यान्डिडेट मास्टरद्धय विवेक थिङ तथा मिलन लामा रहेका छन् ।
त्यसैगरी महिलातर्फ राष्ट्रिय च्याम्पियन सुजना लोहनीसहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति थिङ रहेका छन् । सहभागी खेलाडीमध्ये रुपेशले २०१२ (रुस) एवं २०१८(जर्जिया) को अनुभव संगालिसकेका छन् भने सुजनासँग २०१६ (अवरवैजान) तथा २०१८ (जर्जिया) को अनुभव रहेको छ ।
त्यस्तै क्षितिज भण्डारी २०१६ (अजरवैजान) तथा विवेक २०१८ (जर्जिया) ओलम्पियाडमा सहभागी भएका छन् । अन्य खेलाडीको हकमा चेन्नाई ओलम्पियाड नयाँ अनुभव हुनेछ ।