- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उपत्यकाको काठमाडौं महानगरपालिकादेखि अन्य स्थानीय तहसम्मलाई अहिले फोहर व्यवस्थापन गर्न निकै कठिन परिरहेको छ । यस्तो समस्या पटक-पटक आइरहने जनाउँदै सम्बन्धित सबै स्थानीय तहले फोहर व्यवस्थापन उत्पादन भएको स्थानमा नै गर्नुपर्ने पहल थालेका छन् ।
कामपाले उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको छ । यसका लागि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर बनेपासम्म पनि कामपाको प्रमुख बालेन्द्र साहकै अग्रसरतामा कुहिने फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भइरहेको छ । यसका लागि कम्तीमा पनि ५० रोपनी जग्गा आवश्यक पर्छ । स्थान प्राप्त भएसँगै उपत्यकाको कुहिने फोहर यही नै व्वस्थापन हुने र नकुहिने फोहर मात्र बञ्चरेडाँडा लाने योजनामा कामपा छ ।
कामपाले पनि फोहरको थप व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहर फरक किसिमले नै व्यवस्थापनको कार्य सुरु गरिसको छ ।
अहिले सिसडोलबाट बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम भइरहेकाले केही दिनदेखि उपत्यकाको सडकमा फोहर थुप्रन थालेको छ । सामान्यतया अन्य समयमा भन्दा बर्खाको समयमा फोहर बढी उत्पादन हुने गर्छ । यही समयमा हप्ता दिनसम्म फोहर व्यवस्थापन हुन नसक्नु थप समस्याको विषय हो ।
यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले व्यवस्थापन गर्न समस्या भएको हो । उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । सडक मर्मतको काम सकेसँगै फोहर नियमितरूपमा व्यवस्थापन हुने कामपाले बताएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।
हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ । कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आ-आफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो ।
यता फोहरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ सुरुआत गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेको छ ।
नगरपालिकाले फोहर राख्न फरक-फरक झोला नगरवासीलाई वितरण गरिराखेको छ । कालो झोलामा कुहिने, रातोमा सिसा र सिसाजन्य फोहर, हरियोमा प्लाष्टिकजन्य फोहर, सेतोमा कागजजन्य, नीलोमा फलाम तथा फलामजन्य र पहेँलो झोलामा स्यानेटरी प्याड, डाइपरलगायतका फोहर व्यवस्थापन गर्ते तालिका नगरपालिकाले यही साउन ३ गते सार्वजनिक गरिसकेको छ ।
चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले फोहरको दिगो व्यवस्थापनका लागि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ सुरुआत गरेको जानकारी दिए । यो अवधारणाले स्थानीय स्तरमा उत्पादन भएका फोहरलाई सकेसम्म स्थानीय स्तरमै व्यवस्थापन गर्न सहजीकरण गर्ने उनले बताए ।
“साउन महिनाभरि नगवासीले बानी पार्नेछन् र यस समयमा दण्ड जरिवाना गरिँदैन, अगामी भदौ १ गतेदेखि अनिवार्यरूपमा सार्वजनिक तालिकाअनुसार व्यवस्थापनको काम नभए कारबाहीस्वरुप जरिवाना गर्ने तयारी नगरपालिकाको छ”, उनले भने ।
पछिल्लो समय काठमाडौं उपत्यकाको फोहर व्यवस्थानको काम पेचिलो बन्दै गएपछि नगरपालिकाले उक्त अभ्यासलाई कार्यान्वयनमा उतारेको हो । सकेसम्म उत्पादन भएको स्थानमा फोहरको व्यवस्थापन गर्ने नगरपालिकाको नीति रहेको देखिन्छ ।