arrow

अर्थको सीसीटीभी प्रकरण : छानबिन समितिको बैठक आज पुनः बस्दै

प्रतिवेदन तयार हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
janardan-chanbin-samiti.jpg

काठमाडौं । अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज पुनः बस्दै छ । आज ११ बजे पुनः समितिको बैठक बस्ने भएको छ । 

मङ्गलवार बसेको विशेष समितिको बैठक सीसीटीभी फुटेज हेरेको छ । समितिले रिकभर भएको फुटेज जेठ १४ रातिको हो वा होइन त्यो भने खुलाएको छैन । 

आज समितिले प्रतिवेदन बुझाउँदै छ । प्रतिवेदनमा के रहन्छ त्यो सार्वजनिक भएपछि मात्र खुल्ने समितिका एक सदस्यले बताए ।

मङ्गलवार बिहान बसेको बैठकले विज्ञसहित बोलाएर नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन गर्न प्रहरीको विधि विज्ञान प्रयोगशालाका दुई जना प्रहरी अधिकृत झिकाएको थियो । उनीहरूले गरेको विश्लेषणको आधारमा रिपोर्ट तयार हुदैछ । 

प्रयोगशालाले मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट सोमबार समितिलाई बुझाएको थियो । गत जेठ १४ गते राति अर्थ मन्त्रालयमा बिचौलियालाई बोलाएर करका दर हेरफेर गरेको तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि आरोप छ ।

मध्य राति अर्थ मन्त्रालयमा दुई जना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको हो । 

यता छानबिन समिति भित्रै अनुसन्धान प्रभावकारी नभएको आरोप लागेको छ । अनुसन्धानको दायरालाई बढाउने भन्दा पनि खुम्चाउँदै लगिएको आरोप नेकपा एमाले समबद्ध सदस्यहरूले लगाएका छन् ।

यसअघि शर्माले अर्थ मन्त्रालयको जेठ १४ गते रातिको सीसीटीभी फुटेज बारे आफूलाई केही जानकारी नभएको बताउँदै आएका छन् । 

समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो । 

यसअघि समितिले अर्थ मन्त्रालयका अधिकारीसँग बयान लिएको थियो । बयानका क्रममा ती अधिकारीहरूले मन्त्रालयमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नभएको दाबी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ