arrow

एमाले स–साना कम्युनिष्ट जोड्ने प्रयासमा, सीपी मैनालीलाई सूर्य चिन्हबाटै चुनाव लड्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
kp-oli-cp-mainali.jpg

काठमाडौं । सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र लगायतका पार्टीले छुट्टै गठबन्धन बनाउने कोसिस गरिरहेका बेला नेकपा एमालेले सत्ता बाहिर रहेका कम्युनिष्टहरुलाई पार्टी एकता गर्न आग्रह गरेको छ । 

एमाले शीर्ष नेताहरुले नै नेकपा माले लगायतका स–साना पार्टीलाई एकताको प्रस्ताव गरेका हुन् । एमालेले पार्टी एकतामा कुरा नमिले आगामी निर्वाचनमा सूर्य चिन्हबाट चुनावमा जाने र त्यहाँ एमाले र अन्य कम्युनिष्ट घटकको सहयोग आदानप्रदान हुने गरी विश्वास आर्जन गर्न खोजिरहेको छ । 

त्यस क्रममा नेकपा मालेका नेता सीपी मैनालीलाई सूर्य चिन्हबाट चुनाव लड्न प्रस्ताव गरिसकेको छ । एमालेका धेरै जसो नेता कार्यकर्ताले मैनालीलाई पार्टीमा ल्याउन आग्रह गरिरहेका बेला आउँदो संघीय निर्वाचनमा मैनालीलाई सूर्य चिन्हबाट चुनावमा जान आग्रह गरेको हो ।

‘उहाँलाई हामीले सूर्य चिन्हबाट चुनाव लड्नुस् भनेका छौँ, तर निर्वाचनको बेलासम्म परिस्थिति के आइपर्छ थाहा भएन’, एमालेका एक स्थायी कमिटी सदस्यले भने ।

ती स्थायी कमिटी सदस्यले भनेझैँ अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिष्ट पार्टीलाई एकतामा आउन आह्वान गरेका हुन् । मंगलबार कम्युनिष्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले चुनावी तालमेल नभइ पार्टी एकतामै आउन आह्वान गरेका हुन् । सीपी मैनाली पनि सोही मञ्चमा भएका बेला ओलीले सो आग्रह गरेका हुन् । 

‘ए बाबा ठूलो भाँडामा पकाएको ढिँडो खाऔं न फेरि यत्रो भाँडो के ? आउनुस् सँगै मिलेर काम गरौं र यत्रो चुनौती प्रतिक्रियावादीले खडा गरेका छन्’ उनले भने, ‘के हामीले के चुनावी तालमेल गरेर‘ उनीहरुजस्तो चुनावी तालमेल गर्ने हो र ? ’ओलीले सँगै मञ्चमा रहेका सीपी मैनालीलाई सम्बोधन गर्दै आफूहरु एउटै आन्दोलनबाट आएको र अलग बस्नुपर्ने कुनै कारण नभएको बताए । 

‘हामी सबै देशको विरुद्ध छैनौं, यही नै एकताको आधार हो’ उनले भने । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि गठबन्धन बेठीक हो भनेर आएमा विचार गर्न सक्ने ओलीले बताए । 

ओलीको सो प्रस्ताव राख्नुअघि एमालेका उपाध्यक्ष विष्णु पौडेलले मैनालीलाई सूर्य चिन्हबाट निर्वाचन लड्न प्रस्ताव गरेको स्रोतको दाबी छ । तर मैनालीले त्यसबारे कुनै ठोस जवाफ दिएका छैनन् । 

विगतमा ओली सरकारमा उपप्रधानमन्त्री भएका मैनाली उपयुक्त स्थान पाए पार्टी एकीकरण गर्ने पक्षमा रहेको स्रोतको दाबी छ । एमालेले सकेसम्म पार्टी एकता गराउने र नभए सूर्य चिन्हबाट निर्वाचनमा सहभागी गराउने तयारीमा रहेको स्रोतले जनायो । 

यसअघि पनि एमालेको सूर्य चिन्हबाट हृदयश त्रिपाठी लगायतका नेताहरुले सूर्य चिन्हबाट चुनाव लडेका थिए । एमाले यसपटक साना दलहरु नेकपा विप्लव समूहका नेतालाई पनि सूर्य चिन्ह प्रस्ताव गर्ने तयारी गरेको छ । 

त्यसैगरी तराईमुलका क्षेत्रीय दलहरुलाई पनि सोही प्रस्ताव गर्न लागेको छ । सरकारले विप्वल समूहका नेताहरुलाई अदालतमा हाजिर हुन सूचना जारी गरेपछि एमालेका नेताहरुले त्यसको विरोध गरिसकेका छन् । 

एमालेका नेताहरुले संसदमै त्यसको विरोध गरेका थिए । विप्लवका नेताहरु एमालेसँग कार्यगत गठबन्धन गर्न सक्ने अवस्था रहेका कारण पनि विप्लव समूहका नेताहरुलाई एमालेले साथ दिइरहेको स्रोतको दाबी छ ।



नयाँ