arrow

मन्त्रीबाट हटेका एसका नेताहरुलाई भित्र्याउन एमाले आतुर, घरमा आउन साइत हेर्नु नपर्ने ओलीको तर्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
CPN-UML-Flag.jpeg

काठमाडौं । पाँच दलीय सत्तागठबन्धनले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय लिएपछि दबाबमा रहेको नेकपा एमालेले सकेसम्म पुराना नेता कार्यकर्ता फर्काउने कोसिस गरिरहेको छ । 

खासगरी नेकपा एकीकृत समाजवादी (एस) मा भएका तर असन्तुष्ट रहेका नेता कार्यकर्तालाई फर्काउने कोसिस गरिरहेको हो । विभिन्न पार्टीका असन्तुष्ट नेता–कार्यकर्ता भित्राउने एमालेको रणनीतिमा पहिलो प्राथमिकतामा एसकै नेता कार्यकर्तालाई राखेको छ । 

एसमा असन्तुष्ट बनेका नेता कार्यकर्ताहरुलाई फकाउने क्रममा रहेका एमाले नेताहरुले विभिन्न चरणमा कुराकानीसमेत गरिसकेका छन् । तर यो बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा एसका नेताहरु विरोध खतिवडा, रामकुमारी  झाँक्री, किसान श्रेष्ठ र प्रेम आलेले भेटघाट गरिसकेको स्रोतको दाबी छ । 

करिब दुई साताअघि उनीहरुले ओलीसँग सामूहिक रुपमा भेटघाट गरेका हुन् । ओलीले घर बिर्सेर हिँडेकाहरु घरमा आउन कुनै साइत हेर्नुनपर्ने बताएका थिए । उनले चाँडोभन्दा चाँडो घरमा आएर काम गर्न आग्रह गरेको स्रोतको दाबी छ । 

मन्त्री खुस्केपछि माधव नेपालसँग असन्तुष्ट रहँदै आएका उनीहरुले बानेश्वरको इन्द्रेणीको सात तलमा रहेको रेष्टुरेण्टलाई जमघटको थलो बनाउँदै आएका छन् । 

त्यहाँ बसेर एमालेसँगै सहकार्य गर्नुपर्ने, माधव नेपालले नमाने आफूहरु भने एमालेसँगै सहकार्य गर्ने बारेमा विभिन्न कोणबाट छलफल गर्ने गरेको स्रोतको दाबी छ । 

एमालेका नेताहरुले झलनाथ खनालसँग भेटघाट गरिरहेको बेला उनीहरुले ओलीसँग भेटर आफ्नो कुरा राखेको स्रोतको दाबी छ । एकीकृत समाजवादी र जसपाका असन्तुष्ट नेता–कार्यकर्ता पार्टी प्रवेश गराउन एमाले नेताहरू संवादमा जुटेका बेला झाँक्री, खतिवडा, श्रेष्ठ र आलेले ओलीलाई भेटेको स्रोतको दाबी छ । 

एमालेले आमनिर्वाचन घोषणापछि एकीकृत समाजवादीबाट नेता–कार्यकर्ता फर्काउने नीति प्राथमिकतामा राखेको छ । समाजवादी र जसपाका नेता–कार्यकर्ता व्यक्तिगत रूपमा प्रवेश गराउने एमाले रणनीति छ । 

स्थानीय तहको निर्वाचनपछि चुनावी गठबन्धन र अन्य विषयमा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट छ । 

अध्यक्ष नेपालसँग असन्तुष्ट नेता–कार्यकर्ता भित्र्याउने एमालेको रणनीति छ । र यसका लागि एमाले नेताहरूले भेटघाट पनि जारी राखेका छन् । पार्टी विभाजनपछि जसपाको एउटा समूह कतै नलागी बसेको छ, जुन एमालेसँग संवादमा छ । 

गत शुक्रबार एकीकृत समाजवादीबाट केन्द्रीय सदस्य तथा कर्मचारीको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष भोला पोखरेललाई भित्राएको एमालेले यसै हप्ता त्यही पार्टीबाट अरू नेता–कार्यकर्ता भित्र्याउने तयारी गरेको छ । 

एमालेले दोस्रो चरणको पार्टी प्रवेश कार्यक्रमसमेत तय गरेको छ ।  दोस्रो चरणमा पेसागत फाँटभित्र प्रभावशाली मानिने पोखरेलसँग जोडिएका थुप्रै नेता–कार्यकर्ताका साथै एकीकृत समाजवादीका विभिन्न जनवर्गीय संगठनबाट नेतृत्व तहका कार्यकर्ता प्रवेश गराउने गरी आन्तरिक तयारी भइरहेको एमालेले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ