arrow

तुलसालयसहित विभिन्न संस्था तथा व्यक्ति पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
nyink-award.jpg

काठमाडौं । अनाथ तथा असहाय व्यक्तिहरुको उद्धार गरी आश्रय दिइरहेको तुलसालय आश्रमसहित विभिन्न संस्था तथा व्यक्तित्वहरु पुरस्कृत भएका छन् । आज यहाँ आयोजित कार्यक्रममा एन एण्ड जे इन्टरटेनमेन्ट एनवाईइन्क, अमेरिकाद्वारा ती संस्था तथा व्यक्तित्वहरु पुरस्कृत भएका हुन् ।

ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा अवस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित तुलसालय आश्रममा हाल २७ बालबालिका, ज्येष्ठ नागरिक र मानसिक रोग भएकाहरु आश्रित छन् । उक्त प्रतिष्ठानका अध्यक्ष सरु सुवेदीलाई नगद रु २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । 

पुरस्कृत हुने अन्य संस्थाहरुमा लक्ष्मी प्रतिष्ठानका लागि सो संस्थाका अध्यक्ष विष्णु गौतम, पूर्वेली न्युज डटकमका मणिराम दाहाल, इ–नेप्लिज डटकमका विश्वराज थापालगायत हुन् । 

त्यसैगरी साहित्यकारहरु माया ठकुरी, कृष्ण प्रधान, प्रा डा गार्गी शर्मा, गायक ओमविक्रम विष्ट, काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई हुन् । 

उनीहरु सबैलाई जनही रु २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । अमेरिकामा बसोबास गर्ने साहित्यकार कमला प्रसाईंले एन एण्ड जे इन्टरटेनमेन्ट एनवाईइन्क नामक संस्था स्थापना गरी नेपाली भाषा साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रदान गर्ने गरी यी पुरस्कार स्थापना गरेकी हुन् । 

पुरस्कार प्रदान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यका साथै समाजसेवाका विशिष्ठ क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेकामा खुशी व्यक्त गरे । 

वरिष्ठ निबन्धकार कृष्ण प्रधानले सिलीगुडी बसिरहेको आफूलाई पनि सम्झेर सम्मान प्रदान गरेकामा खुसी व्यक्त गर्दै यस्ता कार्यहरुले स्रष्टाहरुलाई आगामी दिनमा अघि बढ्ने उत्प्रेरणा मिल्ने बताए । 

उक्त संस्थाकी संस्थापक प्रसाईंले आफू विदेशी भूमिमा रहेको भए पनि नेपाली भाषामा योगदान दिने र नेपालको समाजसेवाका क्षेत्रमा क्रियाशील रहने व्यक्तिको स्मरण र सम्मान होस् भनेर यी पुरस्कारहरु स्थापना गरेको जानकारी दिइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ