arrow

गठबन्धनले पार्टीलाई पुल्पुल्याए पनि माधव नेपाल असुरक्षित, काठमाडौं छाडेर रौतहट जाने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
madhav-kumar-nepal-cpn-us.jpg

काठमाडौं । सत्ताधारी गठबन्धन कार्यदलले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटको मापदण्डमा माधवकुमार नेपाल र उनको पार्टी नेकपा एकीकृत समाजवादी (एस) लाई प्राथमिकतामा राखेको छ । 

गत वर्ष भदौ ९ गते २२ जना सांसदसहित एमालेबाट विद्रोह गरेर नयाँ सरकार बनाउने भूमिका खेलेका माधव नेपाललाई विशेष प्राथमिकतामा राखिएको हो । थोरै मतभार भए पनि देशभर संगठन भएको र एमालेलाई हराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्था देखिएपछि सत्ता गठबन्धन दलहरुले माधव नेपाल र उनको पार्टीलाई विशेष स्थान दिने भएका हुन् ।

 ‘अहिलेको अवस्थामा एमालेलाई हराउने भूमिका माधव नेपाल र उनको पार्टीको छ, पूर्व एमालेहरुलाई प्रयोग गरेर एमाले हारेको हेर्न साह्रै मज्जा आउनेछ त्यसकारण पनि माधव नेपाललाई विशेष प्राथमिकता दिनु परेको हो’, सत्तारुढ दलका एक नेताले भने । 

उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदल बैठकले मापदण्ड तय गर्दा एमालेले जितेको स्थानमै एस पार्टीलाई दिने गरी सहमति बनेको छ । 

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको मापदण्ड २०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार मानिनेछ । त्यसमा एकीकृत समाजवादीका लागि विशिष्ट रुपमा राखेर मापदण्ड तय गरेर अघि बढ्ने निर्णय गरिएको छ । 

 ‘हाम्रो तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने कुरा गरिरहेका छौं, कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले भने  ‘यही कुरामा केन्द्रित रहेर हामी छलफल गरिरहेका छौं ।’ 

कस्तो छ त माधव नेपालको क्षेत्र ? 
गठबन्धनले काखी च्यापे पनि  माधव नेपालको क्षेत्र काठमाडौ क्षेत्र नम्बरं २ भने धेरै असुरक्षित रहेको छ । २०७४ सालमा माधव नेपालले २७ हजार ३६६ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी प्रतिमा गौतमले १४ हजार ९०३ मत ल्याएकी थिइन् । 

नेपालको मतान्तर १२ हजार रहेको थियो । अहिलेको स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने एमालेले १७ हजार ३ सय २८, कांग्रेसले १४ हजार १ सय २८,  नेकपा एसले ७ हजार ९ सय १ र माओवादीले ३ हजार १ सय ३१ मत पाएको छ । 

त्यसैगरी यस क्षेत्रमा राप्रपा पनि बलियो रहेको छ । राप्रपाको मत ७ हजार २ सय रहेको छ  । राप्रपा बाहेक गठबन्धन भएमा २५ हजार मत रहेको छ । यसैगरी एमालेसँग राप्रपाको सहकार्य भएमा २५ हजार नै पुग्नेछ । यसर्थ यो क्षेत्रमा माधवकुमार नेपाललाई निकै संकट रहेको छ । 

काठमाडौको क्षेत्र नं २ मा माधवकुमार नेपालले टिकट लिएमा एमालेले जसरी पनि नेपाललाई हराउने रणनीति अनुसार राप्रपासँग सहकार्य गर्ने र माधव नेपालकै विश्वासपात्र कृष्णहरि थापालाई एमालेमा ल्याउने नीति अख्तियार गर्नेछ । 

यदि त्यसो भएमा माधव नेपालका लागि काठमाडौ क्षेत्र नं २ निकै जोखिमपूर्ण रहेको छ । माधव नेपाल स्वंय भने यसपटक काठमाडौलाई छाडेर रौतहट जाने चाहना व्यक्त गरिरहेका छन् । 

यदि त्यसो भएमा सो क्षेत्रमा साहित्यकार नारायण ढकालका छोरा डा. रमेश ढकालले टिकट पाउने संभावना रहेको छ । नेपालले खाेजेजस्तै राैतहटबाट टिकट पाए भने काठमाडौंको क्षेत्र नं २ एमालेकै पोल्टामा जाने संभावना पनि उत्तिकै रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ