arrow

एमाले स्थायी कमिटीमा ४० सिट पनि नजितिने ब्रिफिङ, जोड माओवादी–एससँग गठबन्धनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
uml-permanent-committee-2079-06-07.jpg

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा कसिलो गठबन्धन भए प्रत्यक्षमा चालिस सीट कट्न मुस्किल रहेको आँकलन गरिएको छ । प्रदेश इन्चार्जहरुको ब्रिफिङङले सबै जिल्लाको तथ्यलाई हेर्दा र अहिले वडामा आएको मतलाई जोड्ने हो भने धेरै स्थानमा कडा प्रतिस्पर्धा हुने तर जीत निकाल्न निकै कठिन रहेको आँकलन गरिएको छ ।

 ‘प्रदेश इन्चार्जहरुले केही तथ्यहरु प्रस्तुत गर्नु भयो त्यो तथ्यलाई हेर्दा मुस्किलले चालिस सीट कायम हुने देखिन्छ । गठबन्धन नभए सय सीट पुरा हुने लक्ष्य पनि एकै साथ राखिएको छ । एमालेको संगठन मुजबुद रहेको तर चुनाव जित्नका लागि मतदाता निकै कम रहेको र गठबन्धन भए एमालेमाथि नै प्रहार हुने भएकाले पनि सीट संख्या सोचेभन्दा निकै कम रहेको आँकलन गरियो’, स्थायी कमिटी बैठक स्रोतले भन्यो । 

प्रदेश इन्चार्जहरुले आफ्ना धारणा राखेपछि एमाले उपाध्यक्ष सुवास नेम्वाङ र घनश्याम भुषालले बैठकमै वामगठबन्धनको विषयमा कुरा राखेका थिए । उनीहरुले राखेको विषयलाई बैठकमा सकारात्मक रुपमा लिइएको स्रोत जनाएको छ । ‘स्थायी कमिटीको बैठकमा धेरै विषयहरु उठेका छन् ती सबै बाहिर आउनु पर्ने अवस्था छैन’, स्रोतले भन्यो । 

स्रोतका अनुसार ‘आगामी सरकार एमालेको प्रगतिशील, देशभक्त र लोकतन्त्रवादीको’, प्रस्ताव गरिएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा घोषणा पत्र निर्माण र उम्मेदवार बन्ने मापदण्डमाथि छलफल गर्ने क्रममा सो प्रस्ताव गरिएको थियो । 

स्थायी कमिटी बैठकमा एमालेका नेताहरुले घोषणापत्र मस्यौदा निर्माणको क्रममा घरायसी प्रयोगमा बिजुली बत्ती निःशुल्क दिनुपर्नेदेखि आर्थिक अवस्था सुधार गर्नेसम्मका सुझाव दिइएको छ । साथै उम्मेदवारको मापदण्डको मस्यौदा छलफलका लागि पेस भएको र त्यसमा सुझाव मागिएको थियो । 

स्थायी कमिटी सदस्यलाई दिइएको मस्यौदामा हाल उम्मेदवार छनोटको प्रकृयालाई पारदर्शी बनाइने र त्यसका लागि जिल्ला तहबाट आउने सुझावलाई ध्यान दिने बताइएको छ । 

एमालेले तीन मापदण्डमा रहेर उम्मेदवार छनोट गर्ने बताइएको छ । हाल प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकबाट सांसद रहेकाहरूलाई सोही ठाउँमा पुनः उम्मेदवार बनाउने कि नबनाउने भन्ने सुझाव मागिएको छ ।  

त्यस्तै यसअघि एक वा दुई पटक भन्दा बढी पटक समानुपातिक सांसद भएकाहरूलाई सोही कोटामा फेरि उम्मेदवार बनाउने कि नबनाउने भन्ने सुझाव मागिएको स्रोतले जनाएको छ । 

पार्टीले समानुपातिकमा एकपटक मात्र मौका दिने मापदण्ड यसअघि नै बनाइसकेकाले समानुपातिक कोटामा पटक पटक उम्मेदवार नबनाउन एमालेभित्रै चर्को दबाब परेका कारण यसपल्ट सुझाव मागिएको नेताहरुले जनाएका छन् । 

त्यस्तै राष्ट्रिय सभाका सांसदलाई प्रतिनिधिसभा वा प्रदेश सभाको सदस्यमा उम्मेदवार बनाउने कि नबनाउने भन्नेबारे पनि एमालेले सुझाव मागेको छ । एमालेले भदौ २० भित्र उम्मेदवारको सूची केन्द्रमा पठाइसक्ने गरी कार्यसूची बनाउन तल्लो कमिटीलाई निर्देशन दिने भएको छ । 

बैठकमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र स्थायी कमिटी सदस्य घनश्याम भुषालले वामपन्थी शक्तिहरुबीच गठबन्धन गरेर जान सकिने धारणा राखेका थिए । यसमा पार्टी  अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको साथ नछाडेसम्म वा कांग्रेससँग रहेर एमालेतिर पनि आंशिक गठबन्धन गर्न खोजे त्यो संभव नभएको बताउँदै यसबारे केही कुराकानी अघि बढेको तर खास टुंगो लागिनसकेको धारणा राखेका थिए । 

एमाले बैठक स्रोतले दिएको जानकारी अनुसार ओलीले माओवादीले दुई वटा खुट्टालाई दुवैतिर राख्न खोजे पनि एमालेतिर आउँदा एउटा मात्रै खुट्टा टेकेर आउन संभव नभएको बताएका थिए ।

 ‘दुई वटै खुट्टा टेकेर आउनुस् त्यसपछि सीटमा विचार गरौला भनेको छु’, ओलीको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । 

एमालेले गठबन्धनको ढोका खुला राखे पनि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीको हकमा भने कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने पूर्व शर्तलाई कायमै राखेको छ । 

तर माओवादी र एस पार्टी भने कांग्रेससँगको सहकार्यलाई पहिलो प्राथमिकतामा राखेर अघि बढिसकेका छन् । एमाले एक स्थायी कमिटी सदस्यका अनुसार १ सय ६५ संघीय र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रको शक्ति सन्तुलन विश्लेषण गर्दै रणनीति बनाउने, अन्य दलका असन्तुष्ट नेता–कार्यकर्ता भित्राउने र राप्रपा, नेकपा माले र जनता प्रगतिशील पार्टीसँग सहकार्य गर्नेलगायतका चुनावी रणनीतिमा काम भइरहेको छ । 

निर्वाचनमा राजनीतिक–वैचारिक रूपमा मेल खाने शक्तिसँग सहकार्य गर्ने सम्भावना टरेपछि एमालेले एक्लै लडेर बहुमत ल्याउने मनोवैज्ञानिक सन्देश प्रवाह गर्न खोजेको छ । मंगलबारको एमाले स्थायी कमिटी बैठकले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउन चुनावी अभियान चलाउने निर्णय गरेको सन्देश बाहिर प्रवाह गरे पनि भित्री रुपमा माओवादी र नेकपा एसलाई सम्मानित सिट दिएरै पनि चुनावी एकता नगरे स्थिति गम्भीर रहेको रिपोर्ट आएसँगै एमालेले भित्रभित्र त्यस किसिमको अभ्यास गरिरहेको छ । 

माओवादी र नेकपा एसले पनि कांग्रेससँग सक्दो बार्गेनिङ गरिरहेको छ । कांग्रेससहितको गठबन्धन दलसँगको चुनावी एकता भन्दा एमालेसँगको एकताबाट फाइदा पुग्न सक्ने आँकलनपछि माओवादी र नेकपा एस पनि एमालेतिर लचक देखिएका छन् । 

एमाले स्रोतका अनुसार एमालेले दुई दल जोडेर ५० प्रतिशतसम्म सिट दिन सकिने मनस्थिति बनाएको बुझिन्छ । २०७४ सालमा ४० प्रतिशत सिट पाएरै गएको माओवादीले यसपालि त्यो संख्यालाई ४५ सम्म पाउने र नेकपा एसलाई ५ प्रतिशत दिन सकिने भनिएसँगै माओवादी र नेकपा एसबीच संयुक्त घोषणापत्रबाट चुनावमा जाने निर्णय भइसकेको छ । 

त्यसैगरी दुई दलबीच चुनावपछि पार्टी एकता हुने भनी नेकपा एसका सम्मानित नेता खनालले पनि पुष्टि गरिसकेका छन् । 


 



नयाँ