arrow

कांग्रेस बाँकेमा उम्मेदवार सिफारिसको चटारो, आकाङ्क्षीको लर्को

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
Congress-banke-party.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस अहिले उम्मेदवार सिफारिसमा जुटेको छ । केन्द्रीय कार्यसमितिले तल्ला कमिटीलाई उम्मेदवारहरूको नाम सिफारिस गरेर पठाउन परिपत्र परेपछि बाँकेमा पनि उम्मेदवार सिफारिसको चटारो छ । उम्मेदवार छनौटको मापदण्ड पठाएर पार्टीले तल्ला कमिटीहरूलाई परिपत्र गरेपछि उम्मेदवार सिफारिसको चटारो परेको हो ।

समय निर्धारण गरेर पठाइएको परिपत्र अनुसार प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरूले आज प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नाम पठाउनुपर्नेछ । योग्यता पुगेका व्यक्तिहरू मध्येबाट प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम पठाउन परिपत्र गरिएको छ । महामन्त्री गगनकुमार थापाद्वारा हस्ताक्षरित परिपत्रमा २०७४ मा समानुपातिकतर्फ निर्वाचित व्यक्तिहरूको नाम नपठाउन भनिएको छ ।

प्रदेशसभा सदस्यका लागि नाम सिफारिस गर्दा प्रदेशसभा क्षेत्रीय कार्यसमिति र त्यस प्रदेशसभा क्षेत्रभित्र रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको संयुक्त बैठक बस्नुपर्ने हुन्छ । नाम सिफारिस गर्ने बैठकमा सहमति हुन सकेमा सहमतिबाट र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न भनिएको छ ।

प्रदेशसभामा आकाङ्क्षा राख्नेहरूको सङ्ख्या ठूलो भएपछि प्रदेश कार्यसमितिहरू अप्ठेरोमा परेका छन् । मापदण्ड अनुसार नाम पठाउन नसक्ने अवस्था आएपछि उनीहरू के गर्ने भन्ने अन्योलमा समेत देखिन्छन् । ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बाँकेमा हिजो नै आकाङ्क्षीहरूबाट निवेदन माग गरिएको छ । 

प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्षमा आधा दर्जन बढीले आकाङ्क्षा राख्दा समानुपातिकमा दुई दर्जनदेखि झण्डै चार दर्जनले इच्छा व्यक्त गरेका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ 'ख' का सभापति जितेन्द्र बहादुर हमालले प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ४३ जनाले निवेदन बुझाएको बताए । उनले आज प्रदेश कार्यसमितिको बैठक बसेर प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नाम बुझाउने बताए ।

प्रदेशले बुझाएको नाम प्रतिनिधिसभा कार्यसमितिले रायसहित यही १६ गते जिल्लालाई बुझाउनेछ । जिल्लाले रायसहित १८ गते प्रदेश कार्यसमिति र प्रदेश कार्यसमितिले पनि रायसहित २० गते केन्द्रमा नाम सिफारिस गर्नेछ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पनि प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकका उम्मेदवारहरूको नाम १६ गते जिल्ला कार्यसमितिलाई सिफारिस गर्नेछ । त्यस क्षेत्रभित्र रहेका महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको संयुक्त बैठकबाट नाम सिफारिस गर्नुपर्ने हुन्छ । जिल्ला कार्यसमितिले रायसहित प्रदेशलाई र प्रदेशले केन्द्रलाई नाम बुझाउनेछ ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले केन्द्रीय परिपत्र अनुसार जिल्लाले तीन वटै प्रतिनिधिसभा कार्यसमिति र ६ वटै प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई उम्मेदवारहरूको नाम पठाउन पत्राचार गरेको बताए । उनले निर्धारित मितिमै आएका नामहरू उपर आफ्नो रायसहित जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाई नामहरू सिफारिस गर्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ