- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
आज कार्यदलले प्रतिवेदन तयार गरेर शीर्ष नेतृत्वलाई दिनका लागि बिहानैदेखि गृहकार्य भइरहेको छ । हिजोको बैठकले कार्यदलमा सिट बाँडफाँटको विषयमा करिब करिब सहमति भइसकेको बताइएको थियो । आज प्रदेश र सङ्घकै सहमति सक्ने तयारी भइरहेको छ । तर, प्रदेशका विषयमा केही जटिलता देखिएकाले सङ्घको मात्रै भए पनि टुङ्गो लगाउने प्रयास भइरहेको छ ।
हिजो केही सिटको बाँडफाँट टुङ्ग्याएको छ । तर धेरै सिटमा एकभन्दा बढी दलको दाबी रहेका कारण मङ्गलवार पनि सहमति जुट्न नसकेको हो । कांग्रेसले लिन चाहेको ६० सिटमा अरू दलले दाबी गरेका छैनन् । माओवादी केन्द्रले दाबी गरेको १२-१३, एकीकृत समाजवादीले दाबी गरेको ७-८ र जनता समाजवादी पार्टीले दाबी गरेको ६-७ सिटमा अरू दलको दाबी छैन । बाँकी सिटमा दुई वा दुईभन्दा बढी दलको दाबी छ ।
कांग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको थियो । यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले २५, र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । जम्मा १६५ सिटमा दलको दाबी २२७ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।
शीर्ष तहमा भएको छलफलमा कांग्रेस ९० मा झर्न सहमत भए पनि माओवादीले आधा कांग्रेसले लिएर आधा अरूलाई छाड्नुपर्ने तर्क अघि सारेको छ ।