- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको चार दिने भ्रमण सम्पन्न गरि जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज स्वदेश फर्किएका छन् ।
अध्यक्ष ली झान्सुलाई सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् । अध्यक्ष ली नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार विशेष विमानबाट काठमाडौं आएका थिए ।
अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो। अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्किएका हुन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सभामुख सापकोटा, परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
भेटवार्तामा द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसीहितका विविध विषयमा छलफल भएको थियो ।
लीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए ।