arrow

चिनियाँ अघोषित नाकाबन्दीले नेपालीको ज्यान लिँदै, को जिम्मेवार ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
chinese-blockdge-nepali-tatopani.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राजधानीकाे न्यूरोडमा असल व्यापारीको छवि बनाएका स्वेत बराहा इन्टरप्राइजेजका सञ्चालक सुदर्शन घिमिरेले ९ सेप्टेम्बर २०२२ मा आत्महत्याको बाटो रोजे ।

सुदर्शन जस्तै नेपाली बजारमा चिनियाँ सामान आयात र आपूर्तिमा संलग्न सिन्धुपाल्चोकका युवा उद्यमी हरेराम पौडेलले नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएपछि निराश भएर २०२० को अक्टोबर १३ मा आत्महत्या गरेका थिए ।

यी दुवै व्यवसायी धेरै वर्षदेखि व्यवसायमा संलग्न थिए । कोरोना भाइरसकाे महामारीको प्रकोप अघि यिनीहरुले राम्रै व्यवसाय गर्दै आएका थिए ।

सामानहरू महिनौंदेखि सीमानामा अड्किएपछि ठूलो ऋणको सामना गरिरहेका यी उद्यमी दोहोरो मारमा फसे । एकातिर आर्थिक संकटबाट गुज्रिरहेका उनीहरूलाई अर्कोतिर बैंक तथा अन्य साहुले नियमित रूपमा किस्ता वा बक्यौता तिर्न माग गरिरहेका थिए ।

आफ्नो सामान बोकेका कन्टेनर लामो समयसम्म चीनको सीमामा अड्किएपछि आर्थिक कारोबार बिग्रिएपछि व्यवसायीहरु चरम तनावमा फसेर आत्महत्या गर्न बाध्य भए ।

सन् २०१९ को डिसेम्बरमा चीनमा कोभिड–१९ को प्रकोप देखा परेपछि चीनको सीमानाकाबाट हुने नेपालको व्यापार प्रभावित हुँदै आएकाे छ ।नेपालले कुनै निर्णायक पहल नगरे पनि नेपाल सरकारले चीनसँग सीमा खोल्नका लागि पटकपटक बैठकहरू गरिसकेको छ ।

धेरै भेटघाट र छलफल भए पनि सीमाना पूर्णरुपमा दुई दिशाबाट सञ्चालन गर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन । गत चैतमा तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले दुवै उत्तरी बन्दरगाहबाट आयात–निर्यात सहज हुने गरी छिट्टै प्रबन्ध मिलाइने आश्वासन दिए । तर अहिलेसम्म सीमाना खुकुलो भएको छैन ।

गत भदौमा चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि सीमाका विषयमा चीनसँग छलफल भइसकेको बताएका थिए । तर त्यो भ्रमण र भेटको नतिजा अहिलेसम्म फलदायी देखिएको छैन ।

यस्तै आज मात्रै चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष लि झान्सु नेपालको चार दिने औपचारिक भ्रमण सकेर फर्केका छन् । दशैं, तिहारजस्ता ठूला चाडपर्वका बेला चीनबाट आयात हुने सामान नेपाल भित्रिन सक्ने गरी तातोपानी र रसुवागढी नाका लगायतका नेपाल–चीन सीमानाका नाका तत्काल खोल्न सहजीकरण गर्न नेपाली नेताहरुले पुनः चिनियाँ पक्षलाई आग्रह गरेका छन् ।

लिले नेपाल–चीन व्यापार घाटा कम गर्न र सीमा नाका खोल्न पहल गर्ने आश्वासन पनि दिएका छन् । तर यो व्यवहारमा लागु हुनसक्ने देखिन्न ।

नेपाल–चीन सीमानाका खोल्न धेरैपटक चिनियाँ नेताहरुले आश्वासन दिए पनि प्रतिवद्धता अनुसारको नतिजा देखिएको छैन । अब सीमाका विषयमा नेता ली झान्सुको नेपाल भ्रमण फलदायी हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ ।

प्रश्न यहाँनेर खडा भइरहेकाे छ कि चिनियाँ नेताहरुकाे नेपाल भ्रमण माेह बढ्दाे छ । खासगरी नेपालमा राजनीतिक हस्तक्षेप गर्न उनीहरु उद्दत देखिएका छन् । 

तर राहत दिने र नाका खाेलेर व्यापार मजबुद गर्ने विषयमा चाँसाे दिइरहेका छैनन् । 

सुदर्शन र हरेराम त फर्केर आउँदैनन् तर लाखाैं लगानी गरेर थालेकाे काराेबार सीमानाकामा अड्किने क्रम नराेकिने हाे भने थुप्रै व्यापारी सुदर्शन र हरेरामकाे बाटाेमा नहि‌ंड्लान् भन्न सकिन्न ।



नयाँ