arrow

गठबन्धनको ‘साइडइफेक्ट’ 

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७९ असोज १ शनिबार
dipendra-basnet-article.jpg

ऐजेरु झार जसको आफ्नो न जरा हुन्छ न डाँठ । जमीनको गर्भसम्म जरा गाडेर हुर्किएको हृष्टपुष्ठ रुखको टुप्पोमा झाँगिन्छ । अनन्त त्यही रुखलाई निर्जीव तुल्याउने एक प्रजातिको झार ऐजेरु हो । 

अहिले नेपालको राजनीतिक क्षितिजमा ऐजेरु बन्दैछ गठबन्धन । लोकतन्त्रमा मतदाताले आफूले रोजेको उम्मेदवार र चुनाव चिन्हमा मतदान गर्न पाउनु मताधिकार भए पनि बन्देज लगाउन गठबन्धन अघि सारिएको छ । ‘गठबन्धन’ को अर्थ तल जरासम्म छैन माथि टुप्पोमै झाँगिएको छ ऐजेरु जस्तै । 

पौराणिक एउटा किंबदन्ती सम्झना आयो । महादेवको कठोर तपस्यापछि जसको शिरमा हात राख्यो त्यो भस्म हुने बरदान पाएको भष्मासुर नामक दैत्यले बरदान सही छ कि गलत छ भनेर परीक्षण गर्न खोज्दा आफ्नै टाउकोमा हात राखेर भस्म भएको थियो । 

अहिले दलहरुको नेतृत्वले ‘गठबन्धन’ लाई अस्त्रका रुपमा गरिएको प्रयोग अवश्य आत्मघाती बन्ने देखिन्छ । यसको उपादेयताबारे न आफ्ना संगठनका तल्ला समितिसँग राय मागेका छन् न मतदाताहरुकै राय बुझेका छन् । 

नेतृत्वकर्ताहरु सधै सत्ता र पदमा बसिरहन आफू अनुकूल गठबन्धन अस्त्रले मताधिकार निस्तेज पार्दैछन् । जुन स्वयं दलका तल्ला संगठन र मतदाता ध्वस्त हुनेछन् । 

बलियो देखिएका क्षेत्रमा पार्टीका कार्यकर्ता र मतदाता पलायन बन्नेछन् । जसबाट नेतृत्वलाई नै आउँदो समयमा क्षति पुग्नेछ । 

कांग्रेसलाई सदैव आफ्नो वर्गीय शत्रुका रुपमा अर्थ्याउँदै राजनीतिक फाइदा लिँदै आएको माओवादी पार्टीसँगको यो गठबन्धन कांग्रेसका निम्ति ‘ऐजेरु’ स्थानीय नेताहरुकोसमेत बुझाइ रहेको छ । कांग्रेसको पिपलको रुख ‘ऐजेरु’ ले ढपक्क ढाक्ने छ । 

अन्ततः कांग्रेसको रुख सय साल सम्मका लागि सुकेर नराम्ररी निर्जीव बन्नेछ । परस्पर विपरीत सैद्धान्तिक धरातलका पार्टीहरुबीच हुने गठबन्धन अनन्त ऐजेरु नै सावित हुनेछ । 

पार्टी शीर्ष तहमा देखिएको अकर्मण्यता र आफू जसरी पनि जित्ने मनोदशाले पार्टी संगठन थला पर्नेछ । शुभचिन्तक र आफ्ना मतदाता निश्चय पनि गुमाउने छ । २०४६ यता सम्पन्न आठ वटा निर्वाचनमा कांग्रेसको रुख चिन्हमा मतदान गर्दै आएका आफ्ना खास मतदाता काँग्रेसले गुमाउने छ । 

अहिलेसम्म रुख चिन्हमा बाहेक अरु चिन्हमा स्वस्तिक छाप नलगाएका वफादार मतदाताको भरोसा काँग्रेसले गुमाउने नै छ । 

नेतृत्वले जति नै कडाइ गरे पनि हिजो कांग्रेस भएकै कारण घाँटी रेटिएको कांग्रेस कार्यकर्ता र मतदाताको सन्तान, उसको परिवार र उसका छिमेकीले कसरी अन्य दलमा भोट हाल्न सक्लान् ? भनी प्रश्न नेतृत्वलाई तेर्सिएको छ । 

संकटकालमा माओवादीलाई बास नदिएको र खाना नखुवाएको झोँकमा गाउँ निकाला गरिएका ती कांग्रेसजनले पनि माओवादीलाई भोट नहाल्ने उद्घोष गरिरहेका छन् । 

गठबन्धनबाट बन्ने माओवादी उम्मेदवार सत्ता र शक्तिको आडमा जित्ला तर बहुसंख्यक काँग्रेस कार्यकर्ता र मतदाताले गठबन्धनको विकल्प रोज्ने झ्वाँक नेतृत्वलाई पोखिरहेका छन् । कांग्रेस मतदाता माओवादी मतदाता झैँ क्याडर वेश हैनन् । 

कमान्डरको आदेश झैं कांग्रेस मतदाता मान्न तयार छैनन् । माओवादी भन्दा तुलनात्मक रुपमा लोकतान्त्रिक संस्कारबाट दीक्षित कांग्रेस मतदाताले माओवादी पक्कै रोज्ने छैन भन्ने दाबी मौलाउँदो छ । 

हिजो हिंसात्मक द्वन्द्वका बेला कांग्रेसको चारतारे झण्डा सिरानी मुनि राखेर निदाउने हजुरबाहरुका हातले आज अन्य चिन्हमा स्वस्तिक छाप नलगाउने बताइरहेका छन् । नेतृत्वले स्मरण गरिराख्दा हुन्छ । विगतका गठबन्धनबाटसमेत पुष्टि भइसकेको हो । कांग्रेस गढका रुपमा स्थापित चितवनमा २०७४ मा माओवादीसँग गरिएको गठबन्धनले नेतृत्वलाई सन्देश दिएकै हो । 

कुनैबेलाको गढ अहिले सदासदाको लागि गुमाउने अवस्थामा कांग्रेस पुगेको छ । ०७४ मा कमजोर देखिएको क्षेत्रमा ०७९ आइपुग्दा अनपेक्षित बलियो देखिएको कांग्रेसले आफ्ना विश्वासिला मतदाताहरुको भरोसा दीर्घकालसम्मका लागि गुमाउने एउटा दुर्भाग्य हुने त हैन यो गठबन्धन ?  

कुनैबेला नेपाली राजनीतिमा मियो रहेको कांग्रेस अब त्यो रहेन । माओवादी, समाजवादी लगायतका दलहरुको बैशाखी कांग्रेस बन्न नपरोस् भन्ने मतदाताको आशा र भरोसा मापन गर्ने कांग्रेसमा त्यो सुझबुझ र दुरदर्शिता रहेन । ढाडमा टेकेर टाउकोमा बजार्ने रणनीतिमा माओवादी फलतः सफल बन्दैछ । बलिया प्रतिस्पर्धी दलहरुलाई निर्वाचनमा परास्त गर्न सकिँदैन । 

तर त्यही प्रतिस्पधीलाई छिन्नभिन्न बनाउँदै गए आफू शक्तिशाली बन्न बेर लाग्दैन । यही रणनीतिका साथ माओवादी केन्द्र अहिले पनि एउटा युद्ध गर्दैछ । नेपालका लोकतान्त्रिक दलहरुलाई तहसनहस पार्न ।

०६४ को आफ्नो साख ०७० सम्म कायम नरहेपछि ०७४ मा एमालेसँग गठबन्धन गरी स्वाद चाखेको माओवादीले अनन्तः एमालेलाई नै कमजोर बनाइ दियो । 

त्यस यता नेपाली राजनीतिक क्षीतिजमा बलियो बन्दै आएको कांग्रेसको शक्तिलाई छिन्नभिन्न पार्दै आफू शक्तिशाली बन्न माओवादी रणनैतिक अभियानमै छ । यो भेद कांग्रेसले बुझ्न सकेको देखिँदैन । बुझ्ने बेला कांग्रेस छिन्नभिन्न र निरीह भइसकेको हुनेछ ।
 



नयाँ