arrow

विकास निर्माणमा तीन तहको सरकारको सहकार्य आवश्यक : मन्त्री चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
metmani_chauidhary.jpg

तनहुँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले विकास निर्माणमा तीन तहको सरकारको सहकार्य आवश्यक रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका वडा नं. ५ मानुङकोट जाने पर्यटकीय मार्गमा गरिएको कालोपत्रको सोमबार उद्घाटन गर्दै मन्त्री चौधरीले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र विकास निर्माण दिगो हुने उल्लेख गरे । 

मन्त्री चौधरीले सहमति र सहकार्यले मात्रै सफलता मिल्ने बताउँदै भने, “सबै मिलेर देशलाई विकास गर्ने हो, विकासको काममा राजनीतिक दल पनि एकजुट हुनुपर्छ ।” सबै नेपालीलाई सुखी बनाउने सरकारको लक्ष्य रहेको भन्दै मन्त्री चौधरीले पर्यटनमार्फत आम्दानीको स्रोत बढाउनेतर्फ ध्यान दिन आग्रह गरे । 

मानुङकोटले पर्यटनमा फड्को मार्दै गइरहेकाले कालोपत्रे भएको सडकले मानुङकोटको प्रवद्र्धनमा थप टेवा पुग्ने मन्त्री चौधरीको विश्वास थियो । “बाटो कालोपत्रे भयो, अब आम्दानीको स्रोत बढाउनेतर्फ पनि स्थानीयवासी लाग्नुपर्छ,” चौधरीले भने । चौधरीले मानुङकोटसम्म कालोपत्रे गर्न बाँकी रहेको खण्डलाई पनि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री चौधरीले आउँदो मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने भन्दै थपे, “चुनाव जित्नका लागि मात्रै गठबन्धन होइन, देश निर्माणका लागि गठबन्धन गरेका हौँ ।”

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानुङकोटको विकास अभियानमा नगरपालिका क्रियाशील रहेको बताए । निजी सरकारी साझेदारीमार्फत मानुङकोटको विकास गर्न लागिएको भन्दै न्यौपानेले मानुङकोटमा लगानी गर्न निजी क्षेत्र आकर्षित भइरहेको बताए । 

सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइमार्फत मानुङकोट पर्यटकीय मोटरमार्ग कालोपत्रे गरिएको छ । विसं २०७५ साउन १७ गते सम्झौता भएर यही असार १५ गते कालोपत्रे सम्पन्न भएको एकाइ प्रमुख सुरोज पौडेलले जानकारी दिए । 

रु सात करोड तीन लाखको लागतमा चार दशमलव छ किलोमिटर सडक कालोपत्रे भएको छ । त्यसक्रममा चार दशमलव नौ किलोमिटर नाला निर्माण गरिएको छ । कालोपत्रे गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसीसी ढलान गरिएको छ ।

अझै दुई किलोमिटर सडकखण्ड कालोपत्रे गर्न बाँकी छ । कालोपत्रेको ठेक्का काठमाडौस्थित रानीबारी कन्स्ट्रक्सनले पाएको थियो । कोभिड-१९ को महामारीका कारण केही समय कालोपत्रेको काम प्रभावित भएको थियो । 

मानुङ पर्यटकीय मोटरमार्गका अध्यक्ष वीरबहादुर थापाले ठाउँ ठाउँमा अझै कालोपत्रे बाँकी रहेकाले बाँकी रहेको ठाउँमा पनि कालोपत्रेका लागि बजेट विनियोजन गरिदिन मन्त्री चौधरीको ध्यानाकर्षण गराए । 

सडक कालोपत्रे भएपछि मानुङकोट पुग्ने पर्यटकको संख्या बढेको छ । यसअघि कच्ची सडक हुँदा मानुङकोट जान पर्यटकलाई सास्ती हुँदै आएको थियो ।

कोभिड-१९ र बन्दाबन्दीपछि मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ । “कालोपत्रे सडकले मानुङकोटमा पर्यटक बढायो, पर्यटककको चहलपहल बढेपछि मानुङकोटमा होटल खुल्ने क्रम बढ्यो,” वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ