- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हनुमानढोका दरबारस्थित मूल चोकमा आज बिहान ५४ बोका र ५४ राँगाको बलिसहित पूजाआराधना गरिएको छ । यो चोकमा फूलपातीदेखि नै तलेजु भवानीको मूर्ति ल्याई राखिएको छ । मूर्ति राखिएको स्थलमा सोमबार राति पनि ५४ बोका र ५४ राँगाको बलि दिएर राज्यका तर्फबाट कालरात्रि पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।
तलेजु भवानीको मूर्तिलाई मूलचोकमा राखिए पनि मन्दिरमा भने अहिले पनि भक्तजनले दर्शन गरिरहेका छन् । यो मन्दिर प्रत्येक वर्ष बडादसैँको महानवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ । यहाँ भक्तजनले कलशको दर्शन गरेर फर्कने पनि उनले बताए ।
मन्दिर भक्तजनका लागि आज बिहान ४ः३० बजे खुला गरिएको थियो । भक्तजन भने त्यसअघिदेखि नै लाममा बसेको कार्यालयले जनाएको छ । आज भारी वर्षा भए पनि भक्तजन भने अझै लाममा बसेका छन् । मूर्तिलाई भने बुधबार विजयादशमीका दिनमात्र मन्दिरमा फर्काइने भएको छ ।