arrow

केपी ओलीलाई भीम रावल बने भारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २० बिहिबार
kp-oli-bhim-rawal-uml.jpg
तस्बिर – फाइल ।

काठमाडौं । दशौं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका भीमबहादुर रावल पुनः चुनौती बनेका छन् । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले निर्वाचन नलड्ने भन्दै ओलीलाई सहज बनाइदिएका बेला रावल चुनौती बनेका हुन् । 

रावल चुनौती बनिरहँदा शाक्यलाई भने मंसिर ४ को चुनावका लागि उम्मेदवार बन्न ओलीले नै दबाब दिइरहेका छन् । शाक्यलाई ओलीले चुनाव नलड्ने निर्णय पुनर्विचार गर्न भन्दै टिकट लिन आग्रह गरेका हुन् । तर रावललाई ओलीले पार्टीको सम्पर्कमा नभएको भन्दै टार्न खोजिरहेका छन् । रावलको नाम भने अछामबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएर आएको छ । 

शाक्यलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित काठमाडौंका एमाले अध्यक्ष दीपक निरौलासहितको टोलीले पनि चुनाव लड्न आग्रह गरेको छ । तर शाक्यले भने अब नयाँलाई पालो दिने भन्दै आफू चुनाव नलड्ने अडान कायमै राखेकी छिन् । ‘शाक्यलाई भेट्न पोखरेल र निरौला आफै निवासमा पुगेका थिए’, स्रोतले भन्यो । 

शाक्यलाई काठमाडौं ८ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउन एमाले तयार छ । काठमाडौंका १० क्षेत्रमा लगभग उम्मेदवारको टुंगो लागे पनि दशैंभरि अध्यक्षले अध्ययन गर्ने भन्दै ओलीले शाक्यलाई उम्मेदवार बनाउने नीति लिएका छन् । 

उता एमालेका नेता रावललाई पार्टीबाट हराएको बताएपछि उनको स्थानमा पूर्व माओवादी नेता झपट बोहोरालाई अघि बढाउने नीति लिइएको बुझिएको छ । यद्यपि त्यति सजिलो नभए पनि ओली रावलप्रति सकारात्मक बन्न नसकेका बेला रावल पार्टीको सम्पर्क बाहिर रहेको बताएपछि रावलले बाध्य भएर आफू पार्टी सम्पर्कमै रहेको स्पष्टीकरण दिनु परेको थियो । 

रावलको भूमिकालाई लिएर सुदूरपश्चिम प्रदेशकै एमाले नेताहरुले ओलीसँग प्रश्न उठाएपछि रावलले सम्पर्कमा रहेको स्पष्टीकरण दिएका थिए । गत भदौ १९ गते बसेको एमाले अछामको बैठकले प्रतिनिधि सभातर्फत क्षेत्र नम्बर १ मा रावललाई उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस गरेको थियो । 

संसददेखि अन्य सार्वजनिक कार्यक्रममा पनि पार्टीसँग सल्लाह नगरी एक्लै अघि बढेको आरोप खेपिरहेका उनको नाम उम्मेदवारका रुपमा जिल्लाले सर्वसम्मत सिफारिस गरेपछि अध्यक्ष ओलीले पनि चासो राखेका थिए । 

अन्य क्षेत्रबाट २–३ जनाको नाम आउँदा रावलको किन जिल्लाले एकल सिफारिस गरेको भनेर ओलीले सुदूरपश्चिमका एमाले नेताहरुसँग चासो राखेका थिए । यस्तोमा सुदूरपश्चिमका एमाले नेताहरुले अछाम १ मा रावलको स्थानमा अन्य नेतालाई उम्मेदवार बनाउनुपर्ने कुरा ओलीसँग राखेका थिए ।



नयाँ