arrow

एमालेले सत्ता गठबन्धनको सिट बाँडफाँटपछि निर्णय गर्ने, जसपा र राप्रपासँग चुनावी एकताको तीव्र तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
oli-upendra-yadav.png

काठमाडौं । उम्मेदवार चयनको तीन महिनासम्म सत्तागठबन्धन दलहरुले सिट टुंग्याउन नसकेपछि नेकपा एमालेको ध्यान गठबन्धनतिर मोडिएको छ । जनता समाजवादी पार्टी अन्य दलहरुसँगको सहकार्यलाई खुला राखेको र एमालेबाटै छुट्टिएको नेकपा एकीकृत समाजवादी एस पार्टी असन्तुष्ट रहेका बेला एमालेले गठबन्धन दलहरुको उम्मेदवार चयन प्रकृयालाई ध्यान दिन थालेको हो । 

गठबन्धनको  सिट भागबन्डा र सम्भावित उम्मेदवारलाई पनि आधार मानेर मात्रै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने नीति रहेको एमालेका एक पदाधिकारीले बताए । गठबन्धनभित्र निर्वाचन क्षेत्र बाँडफाँट र उम्मेदवार छनोट पेचिलो बन्दै गएपछि एमालेले उम्मेदवारी टुंग्याउन केही समय पर्खने नीति लिएको भए पनि शुक्रबार आफ्नो तर्फबाट टुंगो लगाउने भएको हो । 

तर यसलाई बाहिर नल्याई उम्मेदवारी दिने दिन मात्रै सार्वजनिक गर्ने तयारी गरेको छ । दशैंअगावै उम्मेदवारी टुंग्याउने गृहकार्य गरिरहेको एमालेले थप परामर्शसहितको गृहकार्य पूरा गरेपछि मात्र सचिवालयबाट अन्तिम निर्णय लिने निष्कर्ष निकालेको थियो । 

आज र भोलि बस्ने औपचारिक अनौपचारिक बैठकबाट उम्मेदवारी टुंगो लगाइनेछ’, एमालेका एक पदाधिकारीले भने । उनका अनुसार जसपाले बिहीबारको बैठकमा पनि असन्तुष्टि व्यक्त गरेपछि गठबन्धनभित्र माओवादी केन्द्र निकै समस्यामा परेको छ । 

नेपाली कांग्रेसले एस पार्टीलाई च्याप्ने देखिएपछि माओवादीले जसपालाई मनाउने प्रयास गरिरहेको थियो । यद्यपि त्यो सफल हुने अवस्था छैन । माओवादीले एस पार्टीलाई पेल्न थालेपछि एसलाई कांग्रेसको साथ रहेको छ । 

जसपाका अध्यक्ष उपेन्द्र यादवले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि माहोल फरक भएको छ । जसपाले शुक्रबार बिहान त सत्ताधारी गठबन्धनको बैठकमा सहभागीता नै जनाएन । 

जसपा एमालेसँग नजिक देखिएको छ । उसले आफूलाई जसले २५ सिट दिन्छ त्यतै लाग्ने नीति लिएको छ । ‘एमालेसँगको सहकार्य बलियो बन्ने अवस्था आएमा जसपाले उताको सम्पर्क पूरै तोड्नेछ’, एमालेका एक पदाधिकारीले भने । उनका अनुसार बिहीबार एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच कुराकानी भएको थियो । जसपाका अध्यक्ष गठबन्धनको बैठक छाडेर ओली निवास पुगेका थिए । 

तर एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच के के कुराकानी भयो भन्ने बारेमा खुलेको छैन । ‘उहाँहरुबीच भएको कुराकानी औपचारिक होइन अनौपचारिक हो यसको विषयमा टुंगो लागेपछि मात्रै सार्वजनिक हुनेछ’, एमालेका पदाधिकारीको भनाइ छ । 

शुक्रबार पनि यादव र ओलीबीच छलफल हुँदैछ । गठबन्धनभित्र माओवादीले साह्रै पेलेको भन्दै जसपा र एस पार्टी असन्तुष्ट रहेका थिए । एस पार्टी एमालेसँग तत्कालै मिल्ने अवस्था नभएकाले उसले कांगेसको साथ खोजिरहेको छ । 

माओवादीले पेलेका उदयपुर –२, बाजुरा, अछाम, धादिङ, दोलखा लगायतका स्थानमा एसले कांग्रेसको साथ पाउने अपेक्षा गरेको छ । एमालेले राप्रपा र राप्रपा नेपालसँगको वार्तालाई पनि तीव्र दिएको बुझिन्छ । 

यदि एमालेले जसपा र राप्रपासँग सहकार्य गर्ने हो भने कम्तीमा डेढ दर्जन सिटमा फाइदा पुग्ने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ