arrow

केपी ओलीले दश बुँदे पक्षधरलाई घर न घाटका बनाए, केहीको राजनीति ‘कत्लेआम’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
kp-sharma-oli-all.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे पक्षधरको राजनीतिक करियर ‘कत्लेआम’ पारेका छन् । आम निर्वाचन– २०७९ का लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न दुई दिन बाँकी रहँदा ‘१० बुँदे’ पक्षधर नेताहरुमध्ये कतिपयलाई कत्लेआम पारेका हुन् ।  

अध्यक्ष ओलीले १० बुँदे पक्षधर एमाले नेताहरुलाई आगामी निर्वाचनमा पूर्व उपाध्यक्ष भीमबहादुर रावलबाटै कत्लेआम शुरु गरेका हुन् । आगामी निर्वाचनपछि रावलले संसदीय दलको निर्वाचनमै अप्ठेरो पार्ने अवस्था देखेपछि अछाममा माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएर रावललाई तह लगाएका छन् । 

आफ्नै  गृहजिल्ला झापाका लागि तय गरेको उम्मेदवार सूचीलाई हेर्दा पनि ओलीले आफू अनुकुलका नेताहरुलाई अघि सारेका छन् । झापा– १ मा ओलीले पूर्व कानूनमन्त्री एवं महान्यायाधिवक्ता अग्नि खरेललाई प्रत्यक्षतर्फको टिकट दिने तयारी गरेका छन् । 

झापा– २ मा राष्ट्रिय सभाका पूर्व सांसद देवराज घिमिरेलाई उम्मेदवारका रुपमा खडा गर्ने तयारी गरेका छन् । झापा– ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउने निर्णयमा ओली पुगिसकेका छन् । झापा– ४ मा निवर्तमान सांसद लालप्रसाद साँवा लिम्बूलाई यसपटक पनि उम्मेदवारीका लागि टिकट दिने भएका छन् । 

झापा– २ की निवर्तमान सांसद पवित्रा खरेल निरौलालाई साइजमा राख्न घिमिरेलाई टिकट दिइएको हो । उनी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिकी निवर्तमान सभापतिसमेत हुन् । 

निवर्तमान सांसद निरौला एमालेभित्र ‘१० बुँदे’ पक्षधर नेताको रुपमा चिनिन्छिन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर अभियानमा एमालेका १० बुँदे पक्षधर केही नेता सहभागी भए पनि निरौलाले भने हस्ताक्षर गरेकी थिइनन् । 

विभाजनपूर्व एमालेभित्र माधवकुमार नेपाल पक्षधर नेतृका रुपमा चिनिएकी उनी नेपालले एमाले विभाजन गरी ‘एकीकृत समाजवादी’ गठन गर्दा त्यसमा पनि सक्रिय थिइनन् । 

यसपटक ओलीले घनश्याम भुषाललाई पनि टिकट नदिने भएका छन् । चितवनमा कृष्ण पोखरेलले टिकट पाइसक्दा सुरेन्द्र पाण्डेको टिकट अझै अलमलमा रहेको छ । 

ताप्लेजुङमा रहेका एमाले सचिव योगेश भट्टराईको भने टिकट कन्फर्म भैसकेको छ । कैलालीमा १० बुँदे पक्षधरका झपट रावल र ओखलढुंगामा यज्ञराज सुनुवारले टिकट पाएका छन् । 

कैलालीमै १० बुँदे पक्षधरका द्धारिका न्यौपानेले टिकट पाएका छन् । यसैगरी अर्का सचिव गोकर्ण विष्ट र सुरेन्द्र मानन्धरको अझै टुंगो छैन । सिन्धुपाल्चोकमा सरेश नेपाल र शेरबहादुर तामाङलाई टिकट दिइएको छ ।

ओलीले १० बुँदे पक्षधरका धेरैको राजनीतिक करियर नै समाप्त (कत्लेआम) गर्ने योजना आगामी मंसिर ४ को निर्वाचनमार्फत नै समाप्त पार्ने योजना बनाएका हुन् । अर्का दश बुँदे पक्षधरका नेता रघुजी पन्तलाई भने समानुपातिक उम्मेदवारको रुपमा ओलीले अगाडि सारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ