arrow

गुर्जा गाउँ अन्धकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
electricity-bulb.JPG

म्याग्दी ।  बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ अन्धकार बनेको छ । यही असोज १८ देखि २२ गतेसम्मको निरन्तरको झरीपछि आएको बाढीले ३५ किलोवाट क्षमताको इङलेखोला लघुजलविद्युत् परियोजनाको नहर बगाएको हो । मुहानमा करिब १५ मिटर नहर बाढीले बगाएपछि परियोजना बन्द हुँदा गुर्जा गाउँ अन्धकार बनेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । 

परियोजना बन्द हुँदा दुई सय ५० घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । मोबाइल फोन सेवासमेत अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । झरीसँगै गुर्जा आसपासका डाँडामा हिमपात भएर सेताम्मे बनेको वडाध्यक्ष छन्त्यालले बताए । 

अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बाहुल्य बसोबास रहेको गुर्जा म्याग्दीको सबैभन्दा विकट र दुर्गम बस्ती हो । हालसम्म सडक यातायातको सुविधा नभएको गुर्जा पुग्न छिमेकी गाउँ लुलाङबाट पूरै दिन पैदलयात्रा गर्नुपर्छ । 
 
विद्यालय भवन भत्कियो 
म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पहिराले विद्यालयको भवन भत्किएको छ । लुलाङ आधारभूत विद्यालयको दुईकोठे कक्षा कोठा भवन पहिराले भत्किएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले पाखोबाट खसेको पहिराले भवनको छानो र पर्खाल भत्किएको जानकारी दिए । 

“राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट करिब रु ३६ लाखको लागतमा हालै भवन बनाएका थियौँ”, उनले भने, “भवन भत्किँदा पठनपाठनका लागि कक्षा कोठाको अभाव भएको छ ।” 

सो भवनमा कक्षा ३ र ८ का विद्यार्थी राखेर पढाउने गरिएको थियो । दुईवटै कोठा बस्नै नमिल्ने गरी भत्किएको छ । दलित समुदायको बाहुल्य बसोबास रहेको लुलाङमा अवस्थित सो विद्यालयमा दुई सय २६ जना विद्यार्थी छन् । 

चौरमा राखेर पढाउनुपर्ने समस्या भएपछि गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवन बनाइएको थियो । नयाँ भवन भत्किँदा विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता बढेको प्रअ ठाकुरले बताए । 

यसैगरी बर्सातका कारण रघुगङ्गा गाउँपालिका–३ फूलबारीमा एकवटा घर भत्किएको छ । स्थानीय झिल्के भण्डारीको दुईतले घर भत्किएको वडा सदस्य जीतबहादुर खत्रीले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ