arrow

केपी ओलीको असक्षमता झल्कियो, एमालेभित्र बागीको भीड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
kp-sharma-oli-all.jpg

काठमाडौं । सत्ता गठबन्धनविरुद्ध प्रतिगठबन्धन गरेको नेकपा एमालेभित्र बागी उम्मेदवार खडा भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिशोध साँधेको भन्दै एमालेका धेरैजसो प्रभावाशाली नेताहरुले बागी उम्मेदवारी दर्ता गराएका हुन् । 

मधेश प्रदेशमा एमालेले जसपासँग गठबन्धन गरेपछि स्थायी कमिटी सदस्य प्रभु साहले सबै क्षेत्रमा जसपाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् । उनी आफैं पनि एमालेको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

एमालेले सत्ता गठबन्धनविरुद्ध जसपा र राप्रपासँग गठबन्धन गरे पनि नेताहरुले बागी उम्मेदवार खडा गरेपछि एमालेका लागि मधेस प्रदेशमा झन् संकट देखिएको हो ।  

एमालेको पकड रहेका स्थानमा बागी उम्मेदवारी परेपछि केन्द्रीय नेतृत्वसमेत असक्षम देखिएको छ । एमालेका स्थायी कमिटी सदस्य साहले मधेस प्रदेशमा जसपाललाई चुनौती दिएका छन् । 

उनी माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गरेका साहले जसपासँगको सहकार्यलाई निको मानेका छैनन् । उनले ओलीको टेलिफोन रिसिभ नगरी मधेस प्रदेशमा बागी उम्मेदवार खडा गरेका हुन् । 

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नं १ मा सत्तारुढ गठबन्धनको समर्थनमा घनश्याम भुषालले मनोनयन दर्ता गराएका छन् । एमालेले टिकट नदिएपछि भुषालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । 

उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । भुषालले शनिबारमात्र एमाले परित्यागको घोषणा गरेका थिए । उनले एमालेकै छविलाल विश्वकर्मासँग प्रतिस्पर्धा गर्नेछन् । 

काठमाडौं क्षेत्र नं ७ बाट रामवीर मानन्धरले एमालेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका निवर्तमान सांसद समेत रहेका रामवीर मनान्धरले काठमाडौं निर्वाचन क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दिएपछि त्यहाँ पनि हलचल पैदा भएको छ ।  

पार्टीले उम्मेदवार बनाउने विषयमा कुनै परामर्श नगरेको भन्दै मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको बताएका छन् । केपी ओली प्रधानमन्त्री हुँदा मानन्धर शहरी विकास राज्यमन्त्रीसमेत बनेका थिए । 

एमालेले भने उक्त क्षेत्रमा स्थानीय नेता श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा गठबन्धनको तर्फबाट डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् । 

एमालेभित्र केपी ओलीकै पक्षधरकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । उनले दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएको छ । 

सो  क्षेत्रमा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा दाङ–१ बाट मेटमणि एमालेका तर्फबाट ३७ हजार ९०८ मतले विजयी भएका थिए ।

यसैगरी नेकपा एमालेकी सचिव पद्मा अर्यालविरुद्ध उनकै पार्टीका नेताले बागी (स्वतन्त्र) उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि स्याङजा २ बाट सचिव अर्यालविरुद्ध उनकै सचिवालयमा रहेर काम गरेका कपिलदेव न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । न्यौपाने एमालेको युवा तथा खेलकुद विभागको प्रमुख रहेका थिए । 

त्यस्तै एमाले रुपेन्देही निर्वाचन–५ मा विवाद भएको छ । एमालेबाट दुई उम्मेदवारले मनोनयन दर्ता गराएपछि विवाद भएको हो । शनिबार उम्मेदवार बनाइने घोषणा गरिएका तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख वासुदेव घिमिरे र राष्ट्रिय सभाबाट राजीनामा दिएका खिमलाल भट्टराई दुवैले उमेदवारी दिएका छन् । 

मकवानपुरमा एमालेका कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालबन्दी गरेका छन् । कमल थापालाई एमालेको सूर्य चिन्हबाट उम्मेदवार बनाएपछि एमालेका कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । त्यस्तै अछाममा एमाले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै झपट बोहोरालाई असहयोग गर्ने जनाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ