arrow

एमालेले बलात्कार आरोपीको टिकट खोस्यो, हत्या अभियोगमा फरारलाई दियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एमालेमा बलात्कार आरोपीको टिकट खोसिएको छ भने हत्या अभियोगमा फरार सूचीमा रहेकाले टिकट पाएका छन् । हत्या आरोपी लक्ष्मी महतोले महोत्तरी १ मा मनोनयन दर्ता गराएका छन् । 

तर बलात्कार आरोपी मोहन बानियाँको टिकट खोसिएको छ । मोहन बानियाँ मुगुमा एमालेका पुराना नेता भए पनि उनीमाथि बलात्कार आरोप रहेको छ । जिल्ला विकास सभापति र सांसद भइसकेका उनी केही समय प्रधानमन्त्री कार्यालय हेर्नेगरी मन्त्रीसमेत भए । 

४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनको नाम एकल सिफारिस भएको थियो । तर, केही महिनाअघि उनीमाथि लागेको बलात्कारको आरोप र त्यससम्बन्धी मुद्दा विचाराधीन रहेकाले एमालेले उनलाई उम्मेदवार बनाएन । 

जुम्लाकी एक शिक्षिकाले बानियाँमाथि बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन् । बानियाँ अहिले धरौटीमा छुटेका छन् । 

प्रदेशसभा सदस्यका लागि सिफासिरस भएका युवा नेता एवं पर्यटन व्यवसायी राजु कार्कीले मुगुबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारी दर्ता गराएका छन् । वर्षाका कारण तत्काल मुगु जान अप्ठेरो भएपछि उनले काठमाडौँबाटै उम्मेदवारी दर्ता गराएका हुन् ।

यत आइतबार जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी एमाले प्रवेश गरेलगत्तै लक्ष्मी महतोले प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका हुन् । उनलाई एमाले सचिव रघुवीर महासेठको जोडबलमा टिकट दिइएको हो । 

ओलीले स्थानीय कार्यकर्तालाई नै टिकट दिन निर्देशन दिएको भए पनि अन्तिम समयमा मधेस प्रदेशका इन्चार्जसमेत रहेका महासेठले महतोलाई टिकट दिएपछि उनको उम्मेदवारी दर्ता भएको हो । 

महतोले आफ्ना प्रतिनिधि तथा कार्यकर्ता मिथिलेश साहमार्फत क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । 

मधेस आन्दोलनमा नेपाल प्रहरीका असई थमन विकलाई हत्या गर्ने मुख्य योजनाकारको रूपमा वारेन्ट जारी भएका महतो फरार अभियुक्त हुन् । 

निर्वाचन आयोगले महतोलाई सफाइ दिएको छ । उनले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलसँग प्रतिस्पर्धा गर्ने छन् । 

यसअघिको निर्वाचनमा महतो संघीय समाजवादी फोरमबाट पोखरेलसँगको प्रतिस्पर्धामा पराजित भएका थिए । यसपल्ट पनि पोखरेलको स्थानमा महतोलाई उठाएपछि एमाले महोत्तरीमा भाँडभैलो भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ