arrow

रुपन्देही शाखारहित सेवामा प्रतिनिधिकै बदमासी : माछापुच्छ्रे बैङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
machhapuchhre-bank-mbl-head-office.jpg
फाइल तस्बिर

काठमाडौँ। माछापुच्छ्रे बैङ्कले शाखारहित बैङ्किङ केन्द्रबाट रकम हिनामिना गर्ने निरञ्जन पाठक र सिकचन्द्र ठाकुरलाई कानुनी दायरामा ल्याइएको जनाएको छ । बैङ्कको रुपन्देहीका ग्रामीण क्षेत्रमा सञ्चालित शाखारहित बैङ्किङ सेवामा ग्राहकको रकम हिनामिना भएको घटनामा व्यवस्थापनले सम्बद्ध प्रतिनिधिलाई दोषी रहेको जनाएको हो।

यसबारे बैङ्कले शनिवार प्रष्टीकरण दिँदै दोषी विरुद्ध कारबाही अघि बढाइएको उल्लेख गरेको हो। रकम हिनामिना घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैङ्कले प्रतिनिधिको लापरबाही भएको पाइएकाले कानुनी कारबाहीको प्रक्रिया अघि बढेको जनाएको छ।

बैङ्कले रुपन्देहीको समरीमाई-५ रोइनिहवा र लुम्बिनी सांस्कृतिक-२ मजहानामा स्थानीय सर्वसाधारणलाई सुलभ बैङ्किङ सेवा दिन राष्ट्र बैङ्कको सर्तअनुसार शाखारहित ग्राहक सेवा केन्द्र (बीएलबी) राखेको थियो। उक्त केन्द्रबाट बैङ्किङ सेवा दिनेमा निरञ्जन पाठक र सिकचन्द्र ठाकुरलाई बैङ्कले व्यावसायिक प्रतिनिधि नियुक्त गरेको थियो। निरीक्षणका क्रममा प्रतिनिधिहरूबाट भएका काममा कैफियत देखिएपछि उक्त सेवा केन्द्र बन्द गरिएको ब्यहोरा बैङ्कले जनाएको छ। 

उक्त सेवा केन्द्रका प्रतिनिधिहरूले विभिन्न व्यक्तिहरूबाट बुझिलिएको रकम 'रियल टाइम'मा जम्मा हुने र सिस्टममार्फत नै भौचर (रिसिप्ट) प्रिन्ट भई निक्षेपकर्तालाई दिनुपर्नेमा बैङ्क भौचरको अनधिकृत प्रयोग गरेको खुलेको बैङ्कले शनिवार जारी गरेको सूचनामा उल्लेख छ।

ग्राहकलाई हस्तलिखित भौचर दिने र बैङ्कको अनलाइन सिस्टममार्फत रकम जम्मा नै नगरी आफैँ राख्ने गरेको पाइएकाले उनीहरूलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी दिइसकेको बैङ्कले जनाएको छ। 

निज प्रतिनिधिहरूले विभिन्न व्यक्तिहरूबाट बुझिलिएको भनिएको रकम आफैँले खाइमासेको व्यवहोरा लिखित रूपमा नै स्वीकार गरिसकेकाले उनीहरूले स्वयं जिम्मेवार हुने पनि सूचनामा उल्लेख छ।

यसबारे आवश्यक कानूनी प्रक्रिया सुरु भएकाले पीडितहरूलाई सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क राखेर न्यायिक प्रक्रियामा  सहभागी हुन बैङ्कले आग्रह गरेको छ।

 



नयाँ