arrow

कर्मठ कम्युनिष्ट खतिवडाको राजीनामा र ओली कम्पनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
rupesh-khatiwada.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी र बहुलठ्ठीपनको नतिजाका कारण अहिले पार्टीका कर्मठ नेताहरुले धमाधम राजीनामा दिएका छन् । आफ्नालाई काखा र अर्कालाई पाखा गर्ने पुरानो रोगलाई निरन्तरता दिएसँगै कर्मठ कम्युनिष्टहरु पार्टीबाटै पाखा लाग्नुपर्ने अवस्था आएको हो । 

चुनावमा ओलीले निकै नै काखा पाखा गरेर टिकट बाँडे । उनीसँग अहिले जो ‘ओली बा’ भन्छन् उनीहरु नै प्यारा भएका छन् । कतिपय सच्चा कम्युनिष्टहरुको आरोप छ कि अब एमालेको नेता हुन राजनीति गर्नुपर्दैन ओली बा भने पुग्छ । 

केहीले त अहिलेसम्म टिक्ने रहेछ ओली कम्पनी भनेर कुरिरहेका पनि छन् । तर ओलीको दम्भ भने एक रत्ति पनि नघटेको त्यहाँभित्रकै नेताहरुले आरोप लगाइरहेका छन् । 

पछिल्लो समय मोरङबाट धेरै नै एमाले नेता तथा कार्यकर्ताले पार्टी छाडेका छन् । जसको प्रत्यक्ष असर सिङ्गो मोरङ जिल्लालाई त परेको छ नै त्यसले चुनावसम्म आइपुग्दा समग्र देशैभर असर पर्ने संकेत दिइरहेको छ । 

अझ मोरङ एमालेका सचिव रुपेश खतिवडाले नै पार्टीको साधारण सदस्यतासमेत त्यागेसँगै त्यसको तरङ्ग मुलुकभर फैलिएको छ । किनकि रुपेश त्यस्ता कर्मठ कम्युनिष्ट नेता हुन् जसले भुइँदेखि नै राजनीति गरे । 

उनी कसैको चाप्लुसी गरेर हैन कि विचारको राजनीति गरेरै यहाँसम्म आइपुगेका हुन् । तर तीन दशक बढी समयदेखि गरेको एमालेको राजनीतिलाई उनले त्याग्नु पर्यो । त्यो पनि केपी ओलीको अदूरदर्शी निर्णयका कारण । 

रुपेश त्यस्ता नेता हुन् जसले बहुदल आएपछि थालेको विद्यार्थी राजनीतिलाई सशक्त बनाउँदै लगेर अहिले जिल्लालाई मजबुद बनाउँदै पार्टी राजनीति गर्दै आएका थिए । तर दुर्भाग्य ओलीको आलोकाँचो टिकट दिने निर्णय नै उनको पार्टी छाड्ने कारण बन्न पुग्यो । 

जतिबेला केपी ओली पार्टीको नेतृत्वमा थिएनन्, जतिबेला ओलीको बोलीको प्रभाव पार्टीमा थिएन, त्यतिबेला तिनै रुपेशले ओलीको साथ दिएका थिए । 

रुपेश जस्ता कर्मठ नेताहरुकै कारण खड्गप्रसाद ओली आज केपी शर्मा ओली कहलाइए । दुई पटकसम्म देशको प्रधानमन्त्री भए । दुई पटकसम्म पार्टीको अध्यक्ष भए । तर ‘खोलो तर्यो लौरो बिस्र्यो भनेझैं ओलीले आफूलाई नेता बनाउनेहरुलाई नै बिर्सिएको रुपेशको राजीनामाबाट स्पष्ट हुन्छ । 

रुपेशले राजीनामा दिँदा एमालेमा विधि, प्रक्रिया, सिद्धान्त सबै सकिएको आरोप लगाए । उनले एमालेमा रहेका नेताहरुबाट अब आशा गर्नु बेकार रहेकोसमेत स्पष्ट पारेका छन् ।

केपी ओलीलाई ‘केपी बा’ भन्दै टाँसिन पुगेका असक्षम नेताहरुलाई उनले ‘बिचरा’ को संज्ञा दिएका छन् । रुपेशले एमालेमा व्यतित ३२ वर्षको राजनीतिक समय, व्यक्तिगत र राजनीतिक जीवनका उतारचढाव र समकालीन राजनीतिका धेरै अनुभूति र प्रसङ्गहरुलाई पछि सार्वजनिक गर्दै जानेसमेत बताएका छन् । जसबाट केपी ओलीका कुकर्मका श्रृंखलाहरु थप उजागर हुनेसमेत स्पष्ट छ । 

यस्तो छ सोमबार दिएको नेता रुपेश खतिवडाको प्रेस वक्तव्यः    

म गरिब किसान परिवारमा जन्मी हुर्केको मान्छे हुँ । तत्कालीन समाजका शोसक सामन्तीको शोषण उत्पीडनको बीचबाट गुज्रिँदै स्वाभिमान र वर्गीय चेतका साथमा वर्ग संघर्षको अभियानमा निष्ठापूर्वक लडाइँ लड्दै यहाँसम्म आइपुगेको मान्छे हुँ । झिनामसिना कुरासँग म त्यति मतलब गर्दिनँ ।

विधि पद्धतिको बर्खिलाप पार्टीका केही नेतृत्व र अध्यक्ष ऋषि पोखरेल गएकाले त्यसबाट आउने नकारात्मक परिणामको भागिदार हुन नपरोस् भन्ने हेतुले मैले नेकपा एमाले मोरङ जिल्ला कमिटीको सचिवबाट नैतिकताका आधारमा राजीनामा गरेको हुँ ।

मलाई पद, पावर र पैसाले किनिने र बेचिने अवसरको कुनै लोभ थिएन र छैन पनि । र यो छोड्नु पर्दा कुनै हीनताबोध छैन ।

मेरो राजीनामालाई लिएर आआफ्नो बुद्धि, विवेकअनुसार प्रत्यक्ष भेटेर, सामाजिक सञ्जाल र फोनमा प्रतिक्रिया दिनु हुने साथै मौन रहनु हुने हजारौं मेरा देशभित्र र बाहिर रहनु हुने मित्रलाई धन्यवाद प्रकट गर्छु । म सत्य छोड्दिनँ, चाहे एक्लै किन नहोउँ !

जति बेला केपी ओली पार्टीको मूल नेतृत्वमा हुनु हुन्थेन, त्यति बेला म उहाँको रोजाइको व्यक्ति थिएँ । आवश्यक पर्दा राति २ बजे उहाँ र मेरो फोनमा कुरा हुन्थ्यो, उहाँले गर्नु हुन्थ्यो । त्यो मेरी जीवनसाथी बन्दनाले आज पनि स्मरण गरिरहन्छिन् ।

विराटनगर एयरपोर्ट आउनुभन्दा अगाडि फोन आउँथ्यो । र म कुनै कारणबस एयरपोर्टमा नदेखिँदा ’खोइ हाकिम कता हो ?’ भनेर फोन आउँथ्यो र सँगै लिएर हिँड्नु हुन्थ्यो ।

मदेखिको आरिस र डाह त्यहीँबाट धेरैलाई थियो । यो कुरा कमरेड विनोद ढकाल र हितैसी मित्र गिरेन्द्र कार्कीलाई राम्रोसँग थाहा छ । भन्नु, नभन्नु उहाँहरूको कुरा हो । आज ‘बा’ भनेर नजिक भएकाहरू कसलाई भेट गराउने, नगराउने र गाडीमा चढाउने, नचढाउने कुरा मैले, कमरेड विनोद ढकाल र कमरेड सुमन प्याकुरेलले गर्थ्यौं ।

घन्टा होइन, दुई–चार दिनको यात्रा हामी सँगै गर्थ्यौं । पूर्वाञ्चल  क्षेत्रको ओली समूहको बैठकको खबर मैले गर्थेँ । एकपटक संखुवासभाबाट केपी ओली, म र राधिका शाक्य युवराज बरालको हाइलक्स गाडीमा फर्किँदै गर्दा मैले मेची–कोशी–सगरमाथाका चुनिँदा ओली समूहका साथीहरूलाई खबर गरी कोशी टप्पु वन्यजन्तु आरक्षको आर्मी क्याम्पमा बैठक आयोजना गरेका थियौं ।

आज तिनै ओलीसँग शक्तिमा हुँदा केही मनुवा नजिक भएकाले दम्भ देखाइरहेका छन् । विचरा तिनीहरू ! 

मैले २०४७ सालदेखि बुझेर एमालेको जनवर्गीय संगठन अनेरास्ववियु दमक बहुमुखी क्याम्पसको सिफ्ट कमिटी, प्रारम्भिक कमिटी हुँदै देशको सबैभन्दा ठूलो क्याम्पस, केन्द्रीय क्याम्पस कीर्तिपुरको निर्वाचित स्ववियु सचिव र सभापतिको उम्मेदवार हुँदै अनेरास्ववियुको केन्द्रीय कमिटीमा राजेन्द्र राई, खिमलाल भट्टराई र ठाकुर गैरेको नेतृत्वमा रहेर काम गर्दै मोरङ जिल्ला कमिटीमा विनोद ढकाल, महेश रेग्मी र ऋषिकेश पोखरेलको नेतृत्वको कमिटीमा रहेर राजनैतिक–वैचारिक कामको नेतृत्व गर्दै धेरै युवा–विद्यार्थी तथा दिदीबहिनीहरूलाई पार्टीप्रति आकर्षित गरी संगठित गरेँ ।

फलस्वरूप आज तीमध्येका धेरैजसो पार्टीको नेतृत्व र अवसरमा छन् । म गौरवबोध गर्छु । मैले आजसम्म पार्टीमा निष्ठा, इमानदारिता र कर्तव्यबोधका साथमा काम गरेँ । तर अब हिजोको अवस्थाको पार्टी रहेन ।

म अहिलेको राजनीतिभित्र हुर्केको गलत चिन्तन, व्यवहार र शैलीभित्र ’एडजस्ट’ हुन सकिनँ । त्यो मेरो कमजोर पक्ष हो । त्यहीँभित्र गलतका विरूद्ध पटकपटक विधिगत अन्तरसंघर्ष गर्ने कोशिस गरेँ । तर दुई–तीन जना मित्रबाहेक अरू सबै अर्ती दिनसक्ने तर गलतलाई गलत भन्न नसक्ने बाध्यतामा रहेको पाएँ ।

विधि र पद्धतिको कुरासँग डराएर मैले राजीनामा पत्रमा उठाएका विषय कुनै छलफलको विषय पनि बनाइएन। विचौलिया, भ्रष्ट छवि भएकाहरूको चंगुलमा चुर्लुम्म डुबेको छ आज पार्टी र अधिकांश नेताहरू अब त्यहाँ सिद्धान्त, विधि, विधान, पद्धति र प्रक्रिया धुमिल भएको छ । यिनबाट आश गर्नु बेकार छ । तसर्थ मैले–हामीले सकेको गर्यौं, राज्य व्यवस्था फेर्न र गणतन्त्र, संविधान ल्याउन । त्यो इतिहासले सम्झिने नै छ ।

अब आर्थिक समृद्धि र राष्ट्रिय स्वाधीनताको एजेन्डाको नेतृत्व नयाँ पुस्तालाई छोडिदिनु पर्छ । मैले अब दलको कार्यकर्ता भएर होइन, एक स्वाभिमानी नागरिकको हैसियतले समाज र राष्ट्रको बाँचुन्जेल निस्वार्थ रूपमा सेवा गर्ने संकल्पसहित आजैबाट नेकपा एमालेको सबै जिम्मेवारी र पार्टी सदस्यतासमेत त्याग गरेको व्यहोरा जानकारी गराउँछु ।

एमालेमा व्यतीत मेरो ३२ वर्षको राजनीतिक समय, मेरो व्यक्तिगत र राजनीतिक जीवनका उतारचढाव र समकालीन राजनीतिका धेरै अनुभूति र प्रसङ्गहरू छन् । जुन पछि सार्वजनिक गर्ने कोसिस गर्नेछु ।

मेरो यो लामो राजनीतिक अभियानमा साथ सहयोग पु¥याउनु हुने मेरो घरपरिवार, आफन्तजन, पार्टी तथा युवा–विद्यार्थी संघ–संगठनका नेता तथा कार्यकर्ता, शुभचिन्तक साथीहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्छु ।

आउँदा दिनमा पनि यहाँहरूको माया र सद्भाव पाइरहने विश्वास व्यक्त गर्छु ।

रुपेश खतिवडा 

विराटनगर 

२०७९ असोज ३१
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ