सर्वोच्चबाट रुपन्देही २ का गठबन्धनका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
2k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही–२ का सत्ताधारी गठबन्धनका संयुक्त उम्मेदवार एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सुनाएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुुक्त इजलासले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिएपछि उम्मेदवारी खारेज हो ।
आदेशमा भनिएको छ, “कालोसूची कायम रहेको भन्ने देखियो, कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन ।”
उम्मेदवार गुरुङ कर्जा सूचना केन्द्रको २०७४ सालमा कालोसूचीमा रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने अदालतले आदेश गरेको हो । रुपन्देही–२ का निर्वाचन अधिकृत उदवीर नेपालीले गुरुङको नाम कालोसूचीमा रहेको उल्लेख गर्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले आज दुवै पक्षको छलफलबाट गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।