arrow

देश र जनताको सेवामा समर्पित विनोद चौधरीको सपनाले जित्नुपर्छ  

logo
केबी राना, 
प्रकाशित २०७९ कार्तिक ८ मंगलबार
kb-rana-biond-chaudhary.jpg

विश्वको अर्बपति सूचीमा समावेश हुन सफल नेपालका एक मात्रै अर्बपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी क्षेत्र नं १ बाट प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेसँगै नेपाली राजनीतिमा निकै चर्चाको विषय बनेको छ । दुई सातादेखि निरन्तर जनताको घरदैलोमा पुगेर मत मागिरहेका चौधरी भोट माग्न कहिले मोटरसाइकलमा, कहिले ट्याक्टर चढेका दृष्य, युवा, बालबालिका, महिला, जेष्ठ नागरिकसँगका संवाद, अन्तरकृयाका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएको छ । 

एक जनाले सामाजिक सञ्जालमा धनी व्यक्तिलाई पनि गरिबको मत माग्नुपर्ने रहेछ चुनाव भन्ने क्याप्सनसहित पोष्ट गरेको तस्बिर मर्मस्पर्शी थियो । चौधरी मात्रै होइन देशको प्रधानमन्त्रीदेखि मुलुकका शीर्ष सबै नेताहरु जनताको घरदैलो पुगेर भोट मागिरहेका छन् । यो नै लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । विगतमा समानुपातिक कोटाबाट संविधान सभा सदस्य र प्रतिनिधि सभा सदस्य बनेका चौधरी यस पटक प्रत्यक्ष निर्वाचनको उम्मेदवार भइरहँदा जसरी पनि जित्नुपर्नेछ ।  

एक सफल उद्योगपतिको विज्ञता, अनुभवलाई मुलुकको विकासमा उपयोग गर्न सकिने, निजी क्षेत्रको प्रतिनिधित्व, अन्तर्राष्ट्रिय सम्बन्ध, लगानीकर्ता भित्र्याउन सकिने अपेक्षासहित सर्वमान्य र लोकप्रिय सभासद–सांसद पहिचान बनाएका चौधरीलाई त्यो साख कायम गर्न पनि चुनाव जित्नै पर्नेछ । त्यति मात्रै नभई संकटापन्न अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रलाई जोगाउन, पचास लाख भन्दा बढी युवा शक्ति रोजगारीका निम्ति विदेशमा (दैनिक २ हजार युवा विदेशिएको) रहेकालाई स्वदेश फर्काउन उद्यमशीलताको विकास गर्न र मुलुकको आर्थिक समृद्विका निम्ति विनोद चौधरी आजको आवश्यकता हो । खस्किदो नेपाली राजनीतिबाट वाक्क दिक्क भएर विदेशिएका युवाहरुमा आशाको दियो बाल्न पनि उनको आवश्यकता छ । 

हजारौं वर्ष पहिलेको इतिहास रहेको स्वाधीन राष्ट्र भएर पनि नेपाल पछि पर्नुको मुख्य कारण आर्थिक विकास नहुनु नै हो । सात दशक अगाडि (जतिबेला नेपालमा प्रजातन्त्र प्राप्त) हामी भन्दा कमजोर मुुलुकहरु दक्षिण कोरिया, जापान, मलेसिया जस्ता देशहरुको विकास र प्रगति अतुलनीय छ । यो किन भयो भन्ने बहस गर्नु आवश्यक छ । मुलतः नेपालमा व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन हुन सकेन । मुलुकको नेतृत्व गर्नेहरुले आर्थिक विकासका विषयमा न बुझे न बुझ्ने चेष्टा गरे । त्यसकारण अबको दिनमा आर्थिक विकासको विषयमा विज्ञ, अनुभवीे व्यक्तिलाई नेतृत्व दिनुपर्दछ । यसका लागि उपयुक्त पात्र विनोद चौधरी नै हुन् । उनको जीवन कथा, नेपालको औद्योगिक विकास, उद्यमशीलता, संघर्ष र इतिहास युवा पुस्ताका निम्ति प्रेरणादायी मात्रै होइन आफैं एउटा आर्थिक विश्वविद्यालय हो । 
 
कुनै पेशा व्यवसाय नगरी मूल कर्म नै राजनीति गर्ने नेताहरुले गरेका भ्रष्टाचार र उनीहरुको सौखिन जीवन शैलीका कारण नेपाली राजनीति बदनाम भइरहेको छ । चौधरीलाई भ्रष्टाचार गरेर सम्पत्ति कमाउनु पर्ने छैन । उनले उल्टै विभिन्न च्यारिटी, फाउण्डेशनको माध्यमबाट सामाजिक सेवामा खर्चिरहेका छन् । वार्षिक १२ अर्ब भन्दा बढी कर तिर्दै आएका छन् । 

चौधरीकै स्तरमा दुई सय उद्योगपति मात्रै जन्माउन सक्ने हो भने नेपालको अर्थतन्त्र दुई गुणाले बढ्नेछ । नेपालका कुनै युवा रोजगारीका निम्ति विदेश जानु पर्दैन । सरकारी कर्मचारीको तलब डबल वृद्वि गर्न सकिनेछ । कुल गार्हस्थ उत्पादन र प्रतिव्यक्ति आयमा वृद्वि हुनेछ । यसले हरेक नागरिकको जीवन स्तरमा परिवर्तन ल्याउनेछ । मुलुक अल्पविकसितबाट विकासोन्मुख दर्जमा पुग्नेछ । त्यसकारण विनोद चौधरीको उम्मेदवारी र विजय हुनुपर्ने सवाल निश्चित भुगोल क्षेत्रलाई मात्रै नभएर सिंगो मुलुकको समृद्विसँग जोडिएको छ । 

नेपालमा निजी क्षेत्रको विकास र उदयको इतिहास तीन दशक मात्रै छ । उदारवादी अर्थनीति, लोक कल्याणकारी राज्य व्यवस्था (उद्योग, व्यवसाय गरी आम्दानी गर्ने अवसर दिने र प्राप्त आम्दानीबाट कर लिने र विपन्न वर्ग समुदायलाई सहयोग गर्ने नीति) बहुदल आएपछि कांग्रेसले शुरुआत गरेको व्यवस्था हो । त्यही जगबाट जन्मेको चौधरीले तीन दशकमा नेपालको सफल उद्योगपतिको पहिचान बनाउन सफल भए । नेपालसहित ३० देशमा सयौं उद्योगहरु सञ्चालन गरी नेपाललाई अन्तर्राष्ट्रिय स्तरमासमेत पहिचान दिएका छन् । यो नेपाल र नेपालीका निम्ति गौरबको विषय हो । 

उनको अन्तर्राष्ट्रिय सम्बन्धलाई उपयोग गर्दै वाह्य लगानीकर्तालाई भित्र्याएर मुलुकमा उद्योग कलकारखाना सञ्चालन गर्ने, रोजगार सृजना गर्ने, स्वरोजगार अभियान सञ्चालन गर्न सम्भव छ । उनी आफैंले गरिखाने अभियानको नेतृत्व गरी उदाहरणीय काम गरिराखेका छन् । निर्णायक तहमा पुगेपछि यो अभियानले अझ सार्थकता पाउनेछ । 

उनी नेपालको निजी क्षेत्रका समस्या, आर्थिक विकासको सम्भावना, विभिन्न देशका अभ्यास, मुलुकको कर्मचारीतन्त्र र सरकारी स्तरमा भएका कमी कमजोरी, सवै समस्याहरुको प्रत्यक्ष भोगी र जानकार छन् । त्यसैले यी सबै समस्या समाधान गर्न उपयुक्त पात्र हुन् चौधरी । उनी स्पष्ट भिजन, कुशल व्यवस्थापकीय क्षमता, चुनौतीलाई अवसरको रुपमा परिणत गर्न सक्ने कला, धैर्यता र निरन्तरता लगायतका खुबीले सफल भएका हुन् । यो कला, क्षमता, अनुभव र सम्बन्धलाई नेपालको विकासमा उपयोग गर्न सक्नुपर्दछ ।   

नवलपरासीबासीले एउटा सफल र असल अभिभावक नेता पाएको छ । यहाँ सबै स्थानीय समस्याहरुलाई समाधानको उचित निकास निकाल्नेछ । सम्भावना नै सम्भावना देखेर युवा अवस्थामा नवलपुर झरेर औद्योगिक ग्राम स्थापना गरी नवलपुर जिल्लालाई नै औद्योगिक जिल्लाको पहिचान दिन सफल उनको उपस्थितिले यो नवलपरासी पूर्व र पश्चिम दुवै नमूना जिल्ला बन्ने विश्वास लिएको छ । 

उनी सभासद भएकै बेला शुरुआत गरेको नमूना जिल्ला अभियानले पूर्णता पाउनेछ । अहिले उनी त्यही भूगोलमा चुनावी मैदानमा छन् । त्यहाँको फरक इतिहास र पहिचान रहेको छ । भारतीय सीमासँग भुगोल जोडिएको पश्चिम नवलपरासी नेपालकै अन्न उत्पादन हुने भण्डारण हो । 

यस क्षेत्रमा उत्पादन हुने तोरी, धान, गहुँ, मकै नेपालमा मात्रै होइन भारतमासमेत बिक्री वितरण हुने गर्दथे कुनै समय । गण्डक नहर निर्माण पश्चात यसको सही व्यवस्थापन हुन नसक्दा भूमि उजाड मरुभूमि, डुबान क्षेत्रको रुपमा परिणत भएको छ । भारतले गण्डक नहरसँगै नेपाली नहर, जलविद्युत निर्माण गरिदिए तापनि उचित मर्मत संभार र सञ्चालन हुन नसक्दा यसबाट खासै लाभ लिन सकेको छैन ।  

यहाँको मुख्य नगदेबाली उखु बालीको बजारको सुनिश्चितता छैन । उखु उद्योगले उखुको मुल्य समयमा भुक्तानी दिएको छैन । लगानीको सुनिश्चितता नहुँदा व्यवसायिक खेती हुन सकेको छैन । विघौं विघा उर्वर भूमि बाँझै राखेर युवाहरु सवै विदेश पलायन भएका छन् । गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारको अभाव छ । 

गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्रै भन्सार त्रिवेणी अलपत्र छ । भैरहवा, परासी त्रिवेणी क्षेत्रको हुलाकी मार्ग जहाँ औद्योगिक करिडोरको रुपमा विकास भइरहेको छ । यसलाई पूर्णता दिनुछ । यी सबै चुनौतीलाई सामना गर्दै सम्भावना र अवसरको रुपमा परिणत गर्न सक्ने एक मात्रै विकल्प चौधरी हो । जीवनभर संघर्ष गरेर स्थापित उद्योगपतिले आफ्नो जीवनको भोगाई, सिकाईलाई समाजसेवामा समर्पित गर्न देश र जनताको सेवामा लाग्छु भनेर गरेको प्रतिबद्धतालाई सम्मान गर्नुपर्छ । त्यो बाटो खुल्ला गर्न र अवसर प्रदान गर्न पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का इमान्दार, सचेत मतदाताहरुको एक–एक मत निर्णायक हुनेछ । 

कति मतदातालाई लाग्न सक्छ पैसावाला उम्मेदवारले पैसा दिन्छ अनि भोट दिउँला । त्यो सोच राख्नु राम्रो होइन । एउटा नेपाली उखान छ । माछा दियो भने एक दिनलाई हुन्छ तर माछा मार्ने तरिका सिकाइयो भने सधैंलाई हुन्छ । त्यसकारण विनोद चौधरीबाट हामीले उद्यमशीलता बन्ने, स्वरोजगार हुने, उद्योगी बन्ने कला सिक्ने हो । उनीसँग सहयोग लिने हो । यसकारण नेपाल र नेपालीको भविष्य निर्माण तथा आर्थिक समृद्विका निम्ति विनोद चौधरी अपरिहार्य नाम छ । देश र जनताको सेवामा समर्पित हुने विनोद चौधरीको सपनाले हार्नु हुँदैन । (राना नवलपुर उद्योग संघका अध्यक्ष हुन्)
 
                                                                                                                                                                                                                                                                                                                                                                

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ