arrow

गाँठो गठबन्धनको 

मुलुकका सबै समस्याको समाधान गठबन्धनबाटै – प्रधानमन्त्री देउवा

आसन्न निर्वाचनमा मात्रै नभई अगामी १०–१५ वर्षसम्म गठबन्धन कायमै रहने दाबी

logo
राम धामी, 
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
sher-bahadur-deuba-dadeldhura-2079-07-17.jpg

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुबीच गठबन्धनको संस्कृतिले मुलुकको समग्र विकास र संविधान कार्यान्वयन सहज हुने बताएका छन् । 

अगामी मंसिर ४ गते हुने निर्वाचनका लागि डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका देउवाले डडेल्धुरा सदरमुकाममा आयोजित चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै डडेल्धुरा जिल्लाको विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे । 

कैलालीको अत्तरियादेखि डडेल्धुरासम्म चार लेन सडक निर्माण गर्ने, डडेल्धुरामा एयरपोर्ट र बसपार्क निर्माण, पश्चिम सेती र पञ्चेश्वरजस्ता आयोजनाहरुको निर्माणका लागि आफू प्रतिवद्ध रहेको उनले बताए । 

डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि रकम पठाइसकेको बताउँदै उनले जिल्लाको विकासका लागि आफू कटिवद्ध भएर लाग्ने दाबी गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेकाले आफ्नो चाहना नभएर पनि प्रधानमन्त्री बन्नुपरेको बताउँदै उनले ओलीको प्रतिगमनकाविरुद्ध गठबन्धन बनेको जिकिर गरे । 

छोटो सम्वोधनका क्रममा तीनपटकसँग आफैसँग पराजित माओवादी केन्द्रका नेता खगराज भट्टको प्रशंसा गरेका प्रधानमन्त्री देउवाले धार्मिक पर्यटन प्रवद्र्धनमार्फत जिल्लाको मुहार फेर्ने संकल्प गरे । 

माओवादीलाई भोट हाल्न हिच्किचाउन नहुने जिकिर गर्दै उनले सच्चा कांग्रेसले पार्टीको निर्देशनअनुसार गठबन्धनमा मतदान गर्नुपर्ने आवश्यकता औंल्याए ।

सुदूरपश्चिम प्रदेश विकासका हिसाबले पछाडि परेको जिकिर गर्दै प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा विजयी भएर पुनः प्रधानमन्त्री हुने र सुदूरपश्चिमको विकासका लागि पहल गर्ने आश्वासन दिए । 

उनले आसन्न निर्वाचनमा मात्रै नभई अगामी १०–१५ वर्षसम्म गठबन्धन कायमै रहने दाबी गर्दै मुलुकका सबै समस्याहरुको समाधान गठबन्धनबाट मात्रै सम्भव रहेको बताए ।

नेपाल सानो देश भएकाले भारत र चीन दुवै छिमेकीसँग मिलेर विकासका लागि सहयोग जुटाउनु आबश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले कालापानीमा सीमा अतिक्रमण भएको विषयमा भारतसँग छलफल गरेर समस्या समाधान गरिने बताए । 

चुनावी सभालाई माओवादी केन्द्रका तर्फबाट डडेल्धुरा प्रदेश सभा निर्वाचन क्षेत्र क का उम्मेदवार खगराज भट्ट, प्रदेश सभा ख का उम्मेदवार गोविन्दराज बोहरा, कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजू राणा देउवा लगायतका नेताहरुले सम्बोधन गरेका थिए । 

प्रधानमन्त्री देउवाले निरन्तर चार दिनसम्म गृहजिल्ला डडेल्धुराका विभिन्न स्थानमा आयोजना गरिने चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री देउवा यही कार्तिक २० गतेमात्रै डडेल्धुराबाट काठमाडौं फर्किने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

निर्वाचन आयोगसँग अनुमति लिएर सभापति देउवा बिहीबार डडेल्धुरा आएका हुन् । 
 



नयाँ