arrow

एमालेको घात सहँदै जसपा, मोरङमा पनि धोका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनबाट धोका पाएको भन्दै एमालेको साथमा पुगे पनि अहिले सबैतिर एमालेबाटै धोका पाउने अवस्थामा पुगेका छन् । 

मनोनयन दर्ताको अघिल्लो दिन सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग तालमेल गर्न पुगेका यादवले मोरङमा कुनै समय आफू लडेको क्षेत्र नम्बर ५ छाड्न नमानेपछि त्यहाँ एमालेको बागी उम्मेदवारी परेपछि धोका पाउने अवस्थामा पुगेका हुन् ।

दोस्रो संविधानसभा निर्वाचन–२०७० यादव यो क्षेत्रबाट चुनाव लडेका थिए । तर जित्न सकेनन् । जसपा नेताहरुका अनुसार यो पटक उनी आफैं आउने सम्भावना थियो । तर सप्तरी २ भन्दा पनि असुरक्षित देखेपछि नआउने निर्णयमा पुगे र मोरङ सभापति अध्यक्ष राजकुमार यादवलाई उम्मेदवार बनाए । 

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल उम्मेदवार बनेका छन् । मोरङ ५ बाट प्रतिनिधि सभा सदस्यका लागि यादव र मण्डलसहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् भने योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक मण्डल पाँच वर्षयता चुनावी तयारीमा थिए । एमाले नेताहरूका अनुसार ०६४ यता पार्टी कमजोर रहेको यो क्षेत्रमा संगठन विस्तारमा मण्डलले नै अगुवाइ गरेका थिए । 

तर एमालेले यो क्षेत्र जसपालाई छाडेपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् । जनताको सल्लाहमा उम्मेदवारी दिएको भन्दै उनले भने, ‘राम्रो रेस्पोन्स पाइरहेको छु ।’ एमालेका कार्यकर्ताहरु अहिले यादवको पक्षमा मत माग्नुभन्दा मण्डलको पक्षमा मत मागिरहेका छन् । 

चापाकल चुनाव चिह्न पाएका उनले जति भोट पाउँछन्, यो अधिकांश एमाले समर्थककै हुनेछ । सत्ता गठबन्धन भने एकतावद्ध देखिएको छ । यो क्षेत्रमा नेपाली कांग्रेस पहिलो पार्टी हो । 

२०७० मा चुनाव जितेका र अघिल्लो पटक शिवकुमार मण्डलसँग पराजित भएका कांग्रेस नेता अमृत अर्याल यो पटक पनि टिकटका आकांक्षी थिए । तर सत्ता गठबन्धनको भागबण्डामा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि अर्याल मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेश सभा निर्वाचन क्षेत्रमा झरेका छन् । र, योगेन्द्र मण्डलले स्वतन्त्रको तर्फबाट उम्मेदवारी दिएपछि जसपालाई निकै अप्ठेरो परेको छ । 

माओवादीका शिव कुमार मण्डल भने २०६४ सालको अन्तरिम संसदको मनोनित सदस्य त्यसपछि सोही क्षेत्रको उम्मेदवार बनिरहेका छन् । 

उनी पहिलो संविधान सभा निर्वाचन–२०६४ मा उपेन्द्र यादवसँग पराजित भए । दुई क्षेत्रबाट चुनाव जितेका यादवले मोरङ ५ छाडेपछि २०६५ मा भएको उपनिर्वाचनमा पनि मण्डल उम्मेदवार भए । तर जसपाका जयराम यादवसँग पराजित भए । 

२०७० सालमा ८ मतअन्तरले विजयी भए । तत्कालीन ४ (हाल ५) बाट माओवादी उम्मेदवार मण्डलले ९ हजार ३६० मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार गयानन्द मण्डलले ९ हजार ३५२ मत पाएका थिए । 

२०७४ मण्डल २२ हजार ९४५ मतका साथ विजयी हुँदा अर्यालले १९ हजार १५३ मत पाएका थिए । यो चुनावमा जसपाका उम्मेदवार यादव भने तेस्रो भएका थिए । 

सत्तारुढ गठबन्धनबाट क्षेत्र नम्बर ५ को प्रदेशसभातर्फ ‘१’ मा गयानन्द मण्डल र ‘२’ मा अमृत अर्याल उम्मेदवार छन् । दुवै उम्मेदवारले पालैपालो मण्डलसँग हारेको संयोग पनि छ । 

२०७० सालमा गयानन्द ८ भोटले पराजित भएका थिए भने २०७४ मा अर्याल ३ हजार ७९२ मतका साथ पराजित भए । एमाले–जसपा गठबन्धनबाट १ मा एमालेका सन्तोषकुमार साह र २ मा जसपाका जयराम यादव उम्मेदवार छन् । 

यादव प्रदेश १ का स्वास्थ्यमन्त्रीसमेत हुन् । उनको क्षेत्रमा तालमेलको सहमति अस्वीकार गर्दै एमालेबाट प्रदेशसभाका निवर्तमान सदस्य बसन्तीदेवी यादवले बागी उम्मेदवारी दिएकी छिन् । जसले गर्दा जसपालाई त्यहाँ पनि धोका भएको छ । 

एक लाख ४९४ जना मतदाता रहेको क्षेत्र नम्बर ५ को दक्षिणी सीमा भारतसँग जोडिएको छ । यो क्षेत्रमा सडक पूर्वाधार, कृषि र सीमापार चोरी निकासी पैठारीको समस्या छ । चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले पनि सडक पूर्वाधार, कृषि रोजगारी र नागरिकताको समस्या सामाधान आश्वासन दिएका छन् । 

मोरङ क्षेत्र नम्बर ५ मा विराटनगर महानगरको वडा नम्बर १३–१८, रंगेली नगरपालिकाको वडा नम्बर ४–७ तथा धनपालथान र जहदा गाउँपालिका पर्छ । विराटनगर, धनपालथान र जहदा कांग्रेसको प्रमुख कांग्रेसले जितेको छ भने रंगेली एमाले । 

वडाध्यक्षका उम्मेदवारहरुले मतका आधारमा पनि कांग्रेस नै अगाडि छ । उसले १९ हजार ४९८ मत पाएको छ भने एमाले १५ हजार ६८०, जसपाले १३ हजार २४९ र माओवादी केन्द्रले ११ हजार ६२८ मत पाएको छ । 

राप्रपाले एक हजार ८८७, जनमत पार्टीले एक हजार ७८ मत पाउँदा लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादीको मत हजारभन्दा कम छ । 

एमालेले साथ नदिएमा जसपाका यादवलाई कठिन देखिएको छ । ‘एमालेबाट सहमति पालाना हुन सकेन चुनावी परिणाम यसै भन्न सक्ने अवस्था छैन’, जसपाका एक नेताले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ