जसपाका इस्तियाक राईलाई राप्रपा र एमालेको धोका, पार्टीबाटै विद्रोह
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
1k
Shares
फाइल तस्बिर
काठमाडौँ। आम निर्वाचन २०७९ को मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । निर्वाचनका लागि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेतृत्वको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् भने अर्कोतर्फ नेकपा एमालेको नेतृत्वमा जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल परिवार दल, नेपाली कांग्रेस वीपी लगायतका रहेका छन् ।
तर, बाँके २ मा जसपाका उम्मेदवार मोहम्मद इस्तियाक राईविरुद्ध नेकपा एमाले र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले तालमेल गरेका छन् । उनीविरुद्ध राप्रपाका डा. धवलशमशेर राणा चुनावी मैदानमा छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ। जसपालाई एमाले र राप्रपाले त धोका दियो नै अर्कोतर्फ आफ्नै पार्टीबाट बागी उम्मेदवार बनेपछि उनका लागि यो चुनाव निल्नु न ओकल्नुको अवस्था सिर्जना भएको छ।
पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला लड्दै आएको बाँके क्षेत्र नम्बर २ मा हुने निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको छ। बाँके-२ मा सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणा, जसपाका राई र राप्रपाका राणा उम्मेदवार रहेका छन् ।
यस पटक उनलाई आफ्नै परिवारको पनि साथ नभएपछि उनले जातीयताको मुद्दालाई बोकिरहेका छन् । जसपा बाँकेका सचिवसमेत रहेका मन्त्री राईका भाइ (काकाको छोरा) समशुल राईले सोही क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
यस्तै जसपाका केन्द्रीय सदस्यसमेत रहेका नेता बाबु खाँ पठानले पनि विद्रोह गरेर मन्त्री राईविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट उम्मेदवार बन्न नपाएपछि उनले विद्रोह गरेर मधेस केन्द्रित दल जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
जसपाका सचिव समशुल र केन्द्रीय सदस्य खाँले सङ्घीय निर्वाचनमा पार्टीभित्र एउटै व्यक्तिलाई पटक-पटक उम्मेदवार बनाउन नहुने भन्दै पूर्वमन्त्री राईविरुद्ध विद्रोह गरेका हुन् । राईकै कारण आफूहरूको राजनीति नै समाप्त हुन थालेको उनीहरूको बुझाई छ ।
अर्कोतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चुनावी मैदानमा छन् । उनलाई सत्ता गठबन्धनमा रहेका सम्पूर्ण दलहरूले समर्थन गर्दै चुनावी प्रचार-प्रसारमा लागेका छन् । राणालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ।
नेपाली कांग्रेसले युवा नेता राणालाई उम्मेदवार बनाएर मत सुरक्षित बनाउने रणनीति लिएको छ । स्थानीय तहको मतको आधारमा यहाँ कांग्रेसका राणा बलियो छन् । बाँके क्षेत्र नम्बर २ मा ९७ हजार ८०९ मतदाता छन् ।