arrow

कसले तिर्छ केपी ओली चढेको हेलिकोप्टरको पैसा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
kp-oli-helicopter-simrik.jpg

काठमाडौं । चुनावी अभियान शुरु भएपछि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न पूर्वदेखि सुदुरपश्चिमका जिल्लाहरु पुगेका छन् । 

उनी १८ गते दार्चुला पुगे भने त्यसपछि  गण्डकी प्रदेश पुगे । निर्वाचन आयोगले ओलीलाई हेलिकोप्टर प्रयोग गर्न अनुमति दिएको छ । दार्चुला, कञ्चनपुर पनि हेलिकोप्टरमै पुगेका थिए । कास्की, बागलुङ र स्याङ्जाको चुनावी आमसभालाई क्रमशः सम्बोधन गरिसकेका छन् ।
 
तर उनले कसको हेलिकोप्टर चढ्छन्, उनले चढेको हेलिकोप्टरको पैसा कसले तिर्छ भन्ने विषयमा भने कौतुहलता उत्पन्न भएको छ । उनी अहिले सिम्रिक एअरको हेलिकोप्टर चढेर तीन जिल्लाका चार वटा आमसभालाई सम्बोधन गरिसकेका छन् ।  

एमाले अध्यक्ष ओलीले दुई चोटी प्रयोग गरेको हेलिकप्टर सिम्रिक एअरको ९ एन कल साइन भएको एसीटी हो । एमालेले उनको खर्च स्थानीय पार्टी कमिटी र केन्द्रीय लेखाले व्यहोर्ने बताइएको छ । 

यसरी चुनाव प्रचारमा जाँदा ओलीले लाखौंको व्ययभार हुने गरी हेलिकोप्टर प्रयोग गर्न लागेका छन् । उनको यो खर्चको स्रोतबारे पार्टी कमिटीहरुले केही खुलाएका छैनन् । पार्टी प्रवेश लगायतका कार्यक्रमहरुमा जाँदा ओलीलाई पार्टी प्रवेश गर्ने व्यक्तिहरुले नै व्यहोर्ने गरेका थिए । 

तर चुनावी कार्यक्रममा जाँदा करिब करिब डेढ करोड भन्दा बढीको खर्च हेलिकोप्टरको प्रयोग गरेबापत उठ्ने बताइएको छ । ‘स्थानीय साथीहरु र पार्टी कमिटीले हेलिकोप्टरको भाडा व्यहोर्नेछन् केही केही पार्टीको केन्द्रीय लेखाले नै व्यहोर्ने गर्छ’, एमालेका एक सचिवालय सदस्यले भने । 

एमाले अध्यक्ष ओली चुनावी अभियानको क्रमममा ४० जिल्लाको ५५ निर्वाचन क्षेत्रमा जाने योजना बनाइएको छ । स्रोतका अनुसार कतिपय सन्दर्भमा उम्मेदवारहरुले पनि हेलिकोप्टरको खर्च व्यहोर्ने जनाइएको छ । 

केही खर्च समानुपातिक उम्मेदवाहरुले पनि खर्च गराइएको एमाले केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । ‘एमालेलाई प्राप्त हुने चन्दा सहयता र केही व्यापारिक साथीहरुले एमाले अध्यक्ष ओली चढ्ने हेलिकोप्टरको खर्च व्यहोर्न लागिएको हो तर यसको हिसाब भने अपारदर्शीनै रहेको छ’, एक एमाले नेताले भने । 

एमाले अध्यक्ष ओली सामान्यतया गाडीमा हिँडडुल गर्न नसक्ने र एकै दिन धेरै वटा जिल्लाका कार्यक्रममा सम्बोधन गर्नुपर्ने भएकाले पनि हेलिकोप्टर लिनुपर्ने बाध्यता रहेको एमाले सचिवालयले जनाएको छ । 

ओली बाहेकका नेताहरु भने आफ्नो क्षेत्र कुरेर बसेका छन् । ओली बाहेक कोही पनि ‘सेफ जोन’ मा नभएका कारण उनीहरु ओलीसँग देशव्यापी कार्यक्रममा जान सकिरहेका छैनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ