arrow

पाकिस्तान टी–२० विश्वकप क्रिकेटको फाइनलमा, न्यूजिल्याण्ड पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
pakistan-t20-2022-11-09.jpg

काठमाडौं । पाकिस्तान अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । आज सिड्नीमा भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान फाइनलमा पुगेको हो । 

पाकिस्तान १३ वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो । सन् २००७ को पहिलो संस्करण, सन् २००९ को विश्वकप र अहिले गरी तीन पटक फाइनलमा पुगेको छ । पाकिस्तानले सन् २००९ को उपाधि जितेको थियो । 

१५३ रनको चुनौती पछ्याएको पाकिस्तानले ५ बल खेल्न बाँकी छँदै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । पाकिस्तानका लागि प्लेयर अफ द म्याच ओपनर मोहम्मद रिज्वानले ४३ बलमा ५७ रन बनाए । 

पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्ने क्रममा कप्तान बाबर अजामले ४२ बलमा ५३ रन जोडे । 

यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । 

डारिल मिचेलले ३५ बलमा अविजित रहँदै ५३ तथा कप्तान केन विलियमसनले ४२ बलमा ४६ रन बनाएका थिए । शाहिन शाह अफ्रिदीले २ विकेट लिएका थिए । 

पाकिस्तान समूहको उपविजेता तथा न्यूजिल्याण्ड अर्को समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । 

दोस्रो सेमिफाइनलमा भोलि भारत र इङ्गल्याण्ड भिड्ने छन् । जित्ने टिमले उपाधिका लागि आइतबार फाइनलमा पाकिस्तानसँग खेल्नेछ । 
 



नयाँ