arrow

उत्तराधिकारी बिना एक्लै ओली !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
kp-sharma-oli-all.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मात्रै देशव्यापी कार्यक्रममा सहभागी भएका छन् । एमालेका शीर्ष नेताहरुको कुनै पनि क्षेत्र सुरक्षित नभएका कारण उनीहरु देश दौडाहामा जान नपाएपछि ओलीमात्रै देश दौडाहामा लागेका हुन् । 

स्थानीय तहको निर्वाचनमा पनि ओली एक्लै दौडाहामा लागेका थिए । अहिले पनि ओलीले निर्वाचनको क्रममा ४० जिल्लाको ५० निर्वाचन क्षेत्र भ्याउने गरी कार्यतालिका बनाएर दौडिएका छन्  ।

एमालेले सत्ता गठबन्धनविरुद्ध चुनावी अभियान तीव्र पार्ने रणनीति बनाएकै कारण ओली मात्रै दौडिएका हुन् । वरिष्ठ नेता ईश्वर पोखरेलको क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आएपछि उनले आफ्नो क्षेत्र छोडेर बाहिर जान सकेका छैनन् । महासचिव शंकर पोखरेललाई दाङमा गठबन्धनको तर्फबाट रेखा शर्माले चुनौती दिएपछि उनी उम्केर हिँड्न सकेका छैनन् । 

त्यसैगरी सुवास नेम्वाङलाई पनि आफ्नै क्षेत्रले बाँधेर राखेको छ । रामबहादुर थापा बादललाई डेंगी लागेपछि उनी बाहिर निस्कन सकेका छैनन् । विष्णुप्रसाद पौडेल आफ्नो निर्वाचन क्षेत्रबाट बाहिरका जिल्लामा पनि जान सकेका छैनन् ।

ओलीले बादललाई साथै लिएर देश दौडाहा गर्ने योजना बनाए पनि उनी बिरामी भएपछि रोकिएका थिए । ओलीले वर्तमान पाँच दलीय गठबन्धनको सरकारका गतिविधिलाई मुख्य निशाना बनाई अभियान थालेका थिए ।  

ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका कमजोर आर्थिक वृद्धि, सत्ता सञ्चालनमा देखिएको बेथिति लगायतलाई विषयलाई मुख्य मुद्दा बनाएर भाषण गरिरहेका छन् । 

ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा, आर्थिक अवस्था र विकास निर्माणलाई उपलब्धिको रुपमा लिँदै एमालेले गठबन्धनलाई कमजोर बनाउने नीति लिएपछि ओली त्यही अनुसारका भाषणमा व्यस्त भएका हुन् । एमालेमा ओली बाहेकका सबै नेताहरु यतिबेला प्रतिरक्षामा रहेका छन् । 

ओलीले सुदूरपश्चिमबाट शुरु गरेको अभियानलाई प्रदेश १ मा लगेर टुंग्याउने भएका छन् । मंसिर १ को मध्यरातबाट मौन अवधि शुरु हुने भएपछि ओली अबको तीन दिन निकै व्यस्त हुने भएका छन् । 

एमालेभित्रका अन्य नेताहरुलाई ओली आफैंले साथमा लिएर हिँड्न पनि चाहिरहेका छैनन् । ओलीले आफ्नो उत्तराधिकारी को हुन् भन्ने बारेमा यो निर्वाचनबाट पनि बाहिर ल्याउन सकेका छैनन् । 

ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग सहकार्य गरेर आफ्नो क्षेत्र सुरक्षित गर्ने कोसिस गरे पनि उनी अझै ढुक्क हुन सकेका छैनन् । 

एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेपछि ओलीको देश दौडाहा एक प्रकारको बाध्यता पनि बनेकाले हेलिकोप्टर चार्टड गरेर भ्रमण गरिरहेका छन् । 

ओली आज सोमबार एक पटक झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा पनि पुग्नेछन् । त्यसपछि उनले खोटाङ लगायतका जिल्ला भ्याएर मंसिर २ मा झापा पुग्ने बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ