arrow

केपी–उपेन्द्र गठबन्धनः छ वर्ष अघिको मलेठ घटना झल्झली सम्झँदै सप्तरीबासी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
oli-upendra-yadav.png
तस्बिर – फाइल ।

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव यसपटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टाँसिएका छन् । तर सप्तरीबासी भने छ वर्षअघि सप्तरीको मलेठमा भएको घटनालाई झल्झली सस्मरण गरिरहेका छन् ।  यसबाट सप्तरी २ मा प्रतिनिधि सभामा उम्मेदवारी दिएका यादवलाई अप्ठेरो पर्ने निश्चित छ । 

२०७३ फागुन २३ गते सप्तरीको मलेठमा एमाले र तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच सोझो भिडन्त भएको थियो । जसबाट ५ जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो भने ११ जना गम्भीर घाइते भएका थिए । 

त्यो बेला प्रहरीले नरोकेको भए सयौं मानिस हताहती हुने थिए । त्यस घटनाको ४ दिनसम्म सप्तरीको राजविराज र रुपनीमा कर्फ्यू लगाइएको थियो । 

तत्कालीन मधेसी मोर्चामा उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी फोरम पनि आबद्ध थियो ।  त्यसैले त्यस घटनामा फोरमका नेता तथा कार्यकर्ताहरु पनि प्रत्यक्ष्य सहभागी थिए । 

मेची काली राष्ट्रिय एकता अभियान अन्तर्गत एमालेले फागुन २३ गते सप्तरीको मलेठमा सभा गरेको थियो । सोही कार्यक्रममा एमाले र मधेसी मोर्चाबीच भिडन्त भएको थियो ।  

कार्यक्रम सकिने बेला मधेसी मोर्चा र एमालेका कार्यकर्ताहरु भिडेका थिए । मधेसी मोर्चाले एमालेको कार्यक्रम बिथोल्न खोजेको एमालेका नेताहरुले आरोप लगाएका थिए भने एमाले मोर्चासँग भिड्न खोजेको मधेसी मोर्चाका नेताहरुले बताएका थिए ।   

त्यस सभामा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि थिए । सभामा ओलीले भाषण पनि गरे । तर सभा सकिन लाग्दा मोर्चा र एमालेका कार्यकर्ताबीच हानाहान भएको थियो ।

त्यो बेला प्रहरीले निकै चलाखी खेल्यो र ठूलो रक्तपात हुनबाट जोगायो । त्यो बेला प्रहरीले नरोखेको भए ठूलो मानवीय क्षति हुने निश्चित थियो ।  

त्यो बेला प्रहरीले निकै होसियारीपूर्वक सभामा सहभागी भएका एमालेका नेता तथा कार्यकर्ताहरुलाई जोगाएको थियो । अधिकांश कार्यकर्ताहरु रातारात भागेका थिए ।  कोही काठमाडांै, कोही उदयपुर कटारीतर्फ लागेका थिए । 

मलेठ घटनापछि ३ दिनसम्म एमालेले मेची महाकाली राष्ट्रिय एकता अभियान स्थगित गरेको थियो । 

त्यस घटनापछि मधेसी मोर्चा र एमालेबीचको सम्बन्ध निकै चिसो भयो ।  

ओलीलाई मधेस पस्न नै धेरै नै गाह्रो भयो । मधेसी मोर्चा र एमालेका नेता तथा कार्यकर्ताबीच लामो समयसम्म एक अर्काबीच आरोप प्रत्यारोप चलिरह्यो । 

मलेठ घटनापछि मधेसी मोर्चा र एमालेबीच सम्बन्ध यसरी बिग्रियो कि, मधेसमा एमालेका कार्यकर्ताहरु जान डराउँथे । 

मलेठ घटनाको केही दिनपछि तत्कालीन मधेसी मोर्चाले मलेठमै श्रद्धाञ्जली सभा राखेको थियो । 

सभामा मधेसी मोर्चामा आबद्ध सबै मधेसी दलका नेताहरूले भाषण गरेका थिए । 

त्यो सभामा तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि भाषण गरे  । उनले भनेका थिए, ‘एमाले हामीसँग भिड्न आयो । हामीले संयम अपनायौं ।’ 

त्यो सभामा एमालेविरुद्ध सबैभन्दा आक्रामक भाषण यादवले नै गरेका थिए । मलेठ घटना भएको ६ वर्ष नबित्दै जसपा अध्यक्ष यादवले एमालेसँग चुनावी सहकार्य गरेका छन् । 

तर जसपाका तल्लो तहका कार्यकर्ताहरु भने त्यस घटनालाई अहिले पनि सम्झिरहेका छन् । 

‘हामीले मलेठ घटनालाई कसरी बिर्सन सक्छौं ? त्यो बेला एमाले हामीलाई सिध्याउन आएको थियो । हामीले त्यसको प्रतिकार गर्यौं’, सप्तरीका महेश यादवले भने, ‘त्यो घटनालाई सम्झदा हाम्रो अध्यक्ष ज्यू (उपेन्द्र यादव) ले हामीलाई धोका दिएको जस्तो लाग्छ । किनभने अध्यक्षज्यूले हाम्रो भावना नबुझेर एमालेसँग सहकार्य गर्नु भएको छ ।’

महेशका अनुसार सप्तरी घटना मधेसी जनतामाथि एमाले अध्यक्ष ओलीको ज्यादतीको पराकाष्ठा थियो । उनले भने, ‘एमाले अध्यक्ष ओली हामीसँग यति पूर्वाग्रह हुनुहुन्थ्यो कि, हामीलाई कहिले माखे साङ्गलो, कहिले कुहिएको आँप झर्यो भनी संज्ञा दिनुहुन्थ्यो । यो भनेको हाम्रो स्वाभिमानमाथिको अपमान हो ।’

अहिले तिनै ओलीसँग उपेन्द्र टाँसिएपछि पीडित जसपाका कार्यकर्ताहरु उपेन्द्रसँग चिँढिएका छन् । 

सोही कारण उनले चुनाव जित्ने सम्भावना कमजोर भएको बुझ्न सकिन्छ । त्यतिमात्र हैन एमालेका कार्यकर्ताले पनि जसपालाई दिल खोलेर भोट नहाल्ने बुझिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ