- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मंसिर ४ गते सम्पन्न संघीय संसद तथा प्रदेश सभा निर्वाचनबाट गठबन्धन दलहरुले अपेक्षाकृत परिणाम हासिल नगरेपछि वाम गठबन्धनको सरकार बन्ने सम्भावनाउन्मुख भएको छ । प्रत्यक्षतर्फ सिट संख्या बढ्दै जानु र समानुपातिकमा पनि नेकपा एमालेको मत बढ्दै जाँदा एमाले आफैँले पनि माओवादी केन्द्र सहितका साना दलहरुको सहयोगले वामपन्थीहरुको सरकार बनाउने सम्भावना उन्मुख भएको छ ।
समानुपातिकतर्फ एमालेले साढे २५ लाख मत ल्याइसकेको छ । अझै ५ देखि ६ लाख मत बढ्ने अपेक्षा एमालेको छ । जसका कारण एमाले अध्यक्ष केपी शमाृ ओली पनि दंग रहेका छन् । त्यसो हुँदा एमालेले समानुपातिकतर्फ नै करिब ३५ सिट ल्याउने हुँदा एमालेकै नेतृत्वमा माओवादी सहितको सरकार बन्ने सम्भावना रहेको छ ।
एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिने नाममा दुई वर्षको अवधिमा आफैले फोन गर्नु र सम्भावित सहकार्यबारे सोध्नुले पनि एमाले फेरि पनि वाम गठबन्धन गरेर सहकार्य गर्ने स्थितिमा रहेको बुझिन्छ ।
त्यसैगरी एमालेले सोचेभन्दा बढी सिट हात लाग्नुले वाम गठबन्धनको सरकार बन्ने सम्भावनालाई पनि नकार्न नसकिने अवस्था रहेको छ । ‘एमाले विगतको गल्तीहरु सच्याउने र पार्टीलाई पुनर्जिवित गर्ने उदेश्य राख्ने हो भने एमालेसँगको सहकार्य नकार्न सकिँदैन’, वाम गठबन्धनको सरकार गठनबारे सोधिएको प्रश्नमा नेकपा एसका नेता भन्छन् ‘विगतलाई भुलौँ अघि बढौँ भन्ने दिन आउन सक्छन् ।’
अहिलेको परिणामलाई हेर्ने हो भने माओवादीको प्रत्यक्ष र समानुपातिक गरी ३० सिट कटाउने अवस्था रहेको छ । त्यसैगरी जसपाले कम्तीमा ११ सिट, नागरिक उन्मुक्तिको ३ सिट, राप्रपाको १२ सिट र नेकपा एसको १० सिटको हिसाब निकाल्ने हो भने एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने अवस्था आउन सक्ने देखिन्छ ।
यसो हुँदा एमालेको नाममा भारी बहुमत हुन सक्ने सम्भावना रहेकाले छिमेकी मुलुक चीनले पनि चासोका साथ हेरिरहेको स्रोतको दाबी छ ।
‘अहिले नै केही नभनौँ समानुपातिक तर्फको मत परिणामले एमालेको नेतृत्वमा सरकार बन्छ कि बन्दैन भन्ने निर्धारण हुन्छ’, एमालेका एक केन्द्रीय सदस्यले भने ।
यतिबेला माओवादी र एस पार्टीले कांग्रेसकै सहयोगले निर्वाचन जितेका कारण तत्कालै धोका दिने अवस्था नभएको कांग्रेसजनले सोचेको भए पनि मत ट्रान्सफर नभएको नाममा माओवादीले धोका दिने सम्भावना रहने पनि बताइएको छ ।
माओवादीको आन्तरिक बैठकमा पनि वामगठन्धनको सरकार बनाउन जोड गरिएका कारण माओवादीबाट कांग्रेसलाई धोका हुने शंकाको लाभ लिन सक्छ ।
वाम गठनबन्धनको सम्भावना बढिरहँदा नेकपा माओवादीका नेता वर्षमान पुन यतिबेला चीन पुगेका छन् ।
रोल्पाबाट नवनिर्वाचित सांसद तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव पुन नियमित स्वास्थ्य उपचारको सन्दर्भ मिलाएर बेइजिङ पुगेका हुन् ।
पुनको उपचार यसअघि पनि चीनमा भएको थियो । पार्टीभित्र चीनको विश्वासिलो पात्रका रुपमा स्थापित भएका पुनको चुनाव लगत्तै हुन लागेको चीन भ्रमणलाई राजनीतिक रुपमा पनि हेरिएको छ ।
उनी नेकपा एमालेसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् । चुनावअघि पनि उनी कांग्रेससँग भन्दा एमालेसँग गठबन्धन गर्नुपर्ने पक्षमा थिए । चीनले नेपालमा कम्युनिष्टहरुको एकताका पक्षमा पहल गर्दै आएको छ ।
पुन चीन जाने तयारीमा रहेका बेला भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार र शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गरिसकेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत शनिबारदेखि नै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो नेतृत्वका लागि दबाब दिइरहेका छन् । शनिबार उनी सहित माओवादीका केही नेता बालुवाटार नै पुगेका थिए ।
त्यस्तै सोमबार प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देउवासँग छलफल गरेका छन् । यो छलफल सत्ता गठबन्धनकै सरकारलाई निरन्तरता दिनेबारेमा केन्द्रीत रहे पनि वाम विश्लेषकहरु भने वाम गठबन्धनका लागि दबाब स्वरुप प्रचण्ड र नेपाल बालुवाटार पुगेको बुझ्छन् ।
ओली, प्रचण्ड र नेपाल अभिभावक बनेर बस्ने हो भने वाम गठबन्धन गर्न सकिने तर्क पनि भइरहेका छन् । ओली पछि बस्दा माधव नेपाल पनि सहकार्य गर्न तयार रहेको बुझिन्छ ।
अर्कातर्फ मौन आत्मआलोचना गर्दै वाम गठबन्धन बनाउने र यसअघि ओलीले मात्र सत्ता चलाएकाले यसपालि निश्चित समय तोकेर प्रचण्डलाई नेतृत्व गर्न दिनेबारे पनि छलफल चलिरहेको स्रोत बताउँछ ।
कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिन भन्दा कम्युनिष्टको जुन नेताको नाममा सहमति बन्छ त्यही नेतालाई दिनुपर्नेमा एमालेको दोस्रो तह राजी भएको बुझिएको छ ।
नकार्न नसकिने कुरा
नकार्न नसकिने कुरा के हो भने प्रचण्ड र माधवले अलि बढी दबाब दिने हो भने त्यसलाई स्वीकार नगरी एमाले र कांग्रेसबीच सहकार्य गरेर पाँच वर्ष चलाउन सकिनेतर्फ पनि एमाले र कांग्रेसको एक तह लागेको बुझिएको छ ।
देउवाले यसतर्फ ध्यानाकर्षण गर्नका लागि आइतबार कांग्रेस नेता एवं काठमाडौं १ बाट प्रतिनिधि सभामा निर्वाचित प्रकाशमान सिंहलाई एमाले अध्यक्षको घर बालकोटमा छलफलका लागि पठाएको पनि बुझिएको छ ।
यद्यपि यसको पुष्टि भने भएको छैन । मत परिणाम नआउँदै सिंह ओलीलाई भेट्न जानुका पछाडि अनेक अड्कल गरिएको छ ।