arrow

चुनाव हारेका नेकपा एसका नेताहरुको चित्तदुखाइ, दोष कांग्रेसलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
four-parties.jpg

काठमाडौं । चुनाव हारेपछि नेकपा एस पार्टीका सम्मानित नेता झलनाथ खनाल निकै आक्रोशित भएका थिए । खनाल जस्तै चुनाव हार्ने एस पार्टीका अन्य नेताहरु पनि आक्रोशित भएका छन् । 

नेपाली कांग्रेसको सहयोग र बलमा निर्वाचन लडेका उनीहरु केही सामान्य मतले मात्रै हारेका हुन् । उनीहरुको क्षेत्रमा ४ देखि ५ हजार मात्रै एस पार्टीको मत भए पनि कांग्रेसले सहयोग गरेको अवस्थामा मतसंख्या बढेको थियो । तर पनि कांग्रेसको सबै मत ट्रान्सफर नभएको भन्दै एस पार्टीका सम्मानित नेता खनाल लगायतले कांग्रेसलाई आरोप लगाउन छाडेनन् ।

यही बीचमा एस पार्टीले चुनावी समीक्षाका सचिवालय बैठक राखेको छ । बैठकमा राष्ट्रिय राजनीतिबारे गम्भीर छलफल भएको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । 

कांग्रेस, माओवादी, जनमोर्चा सहितको गठबन्धनमा निर्वाचन लडेको सो पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन सकेको छैन । समानुपातिकको मत गणनाकै क्रममा रहेकाले थ्रेस होल्ड कटाउन सक्ने संभावना पनि रहेको छ । राष्ट्रिय पार्टी बन्नका लागि समानुपातिकमा सदर मतको ३ प्रतिशत मत ल्याउनु पर्छ । 

करिब तीन लाख २० हजार मत ल्याउनु पर्नेमा अहिलेसम्म नेकपा एस तीन लाख नजिक पनि पुगेको छैन । अध्यक्ष नेपालले भने थ्रेसहोल्ड कटाउने दाबी गरेका छन् । 

त्यस्तै यसपालि कांग्रेस र माओवादीको बलमा चुनावमा उत्रिएका नेताहरुमध्ये केही त पार्टी हाक्ने नेताहरु नै पराजित भएका छन् । सम्मानित नेता खनाल, प्रभावशाली नेता सोमप्रसाद पाण्डे, पार्टीका उपमहासचिव जगन्नाथ खतिवडा, सचिव रामकुमारी झाँक्री लगायतका नेताहरु पराजित भएकाले गठबन्धन इमान्दार नभएको उनीहरुको भनाइ छ । 

आजको बैठकमा सरकार गठनका विषयमा भने छलफल नभएको अध्यक्ष नेपालले जनाएका छन् । बैठकमा उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाट र आगामी सरकार गठनबारे भएको छलफलका विषयमा पनि बैठकलाई जानकारी गराउने स्रोतको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ