arrow

कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा, यस्तो छ लेखाजोखा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
qatar-worldcup-semifinals-team.jpg

काठमाडौं । कतार विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान सम्पन्न फ्रान्स र इङ्गल्याण्डबीचको चौथो क्वार्टरफाइनल खेलको नतिजासँगै सेमिफाइनल समीकरण पूरा भएको हो । 

क्वार्टरफाइनलमा फ्रान्सले इङ्गल्याण्डलाई २–१ ले हरायो ।

यसअघि क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगिसकेका छन् । 

क्रोएसियाले ब्रजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो ।

अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो ।

मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गर्यो । 

सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियासँग र फ्रान्सले मोरक्कोसँग खेल्नेछ । दुवै खेलहरु राति १२ः४५ बजे शुरु हुनेछन् । 

पहिलो सेमिफाइनल खेल मंगलबार राति अर्जेन्टिना र क्रोएसियाबीच हुनेछ । दोस्रो सेमिफाइनल खेल फ्रान्स र मोरक्कोबीच बुधबार राति हुनेछ । 

फ्रान्स साविक विजेता र क्रोएसिया साविक उपविजेता हो । क्रोएसियाले अहिलेसम्म उपाधि जित्न सकेको छैन । फ्रान्स दुई पटकको विजेता हो । यसअघि सन् १९९८ मा फ्रान्सले उपाधि जितेको थियो । सन् २००६ मा भने उपविजेतामा सीमित भएको थियो । 

मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको छ । अर्जेन्टिनाले यसअघि सन् १९७८ र सन् १९८६ गरी दुई पटक उपाधि जितिसकेको छ । त्यस्तै तीन पटक उपविजेता भएको छ । 

२१ औं संस्करण पूरा हुँदा ब्रजिल पाँच पटकको च्याम्पियन हो । ब्रजिल पछिल्ला पाँच संस्करणमा चौथो पटक क्वार्टरफाइनलबाटै बाहिरिएको छ भने सन् २०१४ मा चौथो भएको थियो । 

त्यस्तै चार पटकको च्याम्पियन इटाली यसपालि छनोटसमेत हुन सकेन । त्यस्तै चार पटकको च्याम्पियन जर्मनी यसपालि समूह चरणबाटै बाहिरियो । 

२२ औं संस्करणको तेस्रो स्थानको भिडन्त पुस २ गते (डिसेम्बर १७) हुनेछ भने फाइनल खेल पुस ३ गते (डिसेम्बर १८) हुनेछ । 

सेमिफाइनलमा क्रोएसिया र मोरक्को विजयी भए यसपालि नयाँ टिम च्याम्पियन बन्ने फाइनल अघिनै निश्चित हुनेछ । 

पहिलो पटक खाडी मुलुक कतारमा विश्वकप भइरहेको छ । यो आफैंमा पनि इतिहास बनेको छ । त्यस्तै यसपालि एसियाली राष्ट्रहरुले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ