arrow

प्रचण्ड प्रधानमन्त्री बनेसँगै गोरखा-२ मा उत्साह, प्रतिवद्धता पूरा हुने विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
prachanda gorkha.jpg

गोरखा । गोरखा जिल्ला क्षेत्र नं. २ का वासिन्दाले आफूहरुले जिताएर पठाएको जनप्रतिनिधि ‘पुष्पकमल दाहाल प्रचण्ड’ देशको प्रधानमन्त्री बनेको भन्दै खुशी भएका छन् । साथै प्रचण्डले चुनावी दौरानमा जनाएका प्रतिवद्धता पनि पूरा हुने विश्वास उनीहरुको छ । 

प्रचण्डले जनतासमक्ष निर्वाचन पछि आफूले देशको नेतृत्व गर्ने, विकास र समृृद्धिको नमूना गोरखाबाटै प्रदर्शन गर्ने प्रतिवद्धता जनाएका थिए । अत्यन्तै कठिन अवस्थामा प्रधानमन्त्री बनेको हुँदा धेरै प्रचण्डलाई ठूलो अवसर र चुनौती रहेको स्थानीय अजीरकोटका सुनील परियारको बुझाइ छ ।

‘माओवादी सत्तामा रहिरहेर पनि मुलुकका लागि उल्लेखनीय केही काम नभइरहेका बेला उहाँ प्रधानमन्त्री हुनुभएको छ । यो पार्टीका लागि पनि र उहाँका लागि पनि यो अन्तिम अवसर हो’, परियार भन्छन्, ‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विकासका धेरै खाकाहरु कोरिएका थिए । अब प्रचण्ड प्रधानमन्त्री भएपछि त्यसले मूर्तरुप लिनेछ भन्ने हाम्रो अपेक्षा छ ।’

उनले भने, ‘प्रचण्डले सडक धुलोमुक्त बनाउछु, गोरखकाली रबर उद्योग, पालुङटार एयरपोर्ट पुनः सञ्चालन गर्नेछु र पालुङटारलाई औद्योगिक क्षेत्र बनाउँछु भनेर लिखित, मौखिक प्रतिवद्धता जनाउनु भएको छ । पक्कै गर्नुहुनेछ भन्ने अपेक्षा छ ।’

मतादाता सूर्य भण्डारी प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसंगै आफूमा खुशीको सीमा नै नभएको बताउँछन् । उनी भन्छन्,‘दरौँदी, मर्स्याङ्दी, चेपे र बूढीगण्डकी करिडोरमा तटबन्धन र सिँचाइको व्यवस्था गरी किसानलाई उत्पादनसित जोड्नेछु भनेर उहाँले चुनाव प्रचारप्रसारमा भन्नु भएको सम्झिरहेका छौँ ।’

भण्डारी भन्छन्, ‘सडकलाई धुलोमुक्त बनाउनेछु पनि भन्नु भएको छ । त्यो पनि राम्रो छ तर विकास हुन सडकले मात्रै पुग्दैन, सडकलाई उत्पादनसित जोड्नैपर्नेछ । त्यसमा उहाँले पक्कै पनि योगदान दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’ 

भण्डारी जतिकै खुशी स्थानीय गणेश सेढाईँ पनि छन् । प्रचण्ड प्रधानमन्त्री भएसंगै बूढीगण्डकी आयोजना निर्माणको काम, तिब्बत जोड्ने उत्तर-दक्षिण सडक निर्माण, दरौँदी, मर्स्याङ्दी, बूढीगण्डकी करिडोरको सर्वाङ्गिण विकास हुने उनको विश्वास छ । 

विकासका पूर्वाधारका दृष्टिले पछाडि परेको गोरखा अब नमूना बन्ने स्थानीय सुगम भइकनको विश्वास छ । उनले भने, ‘उहाँले हरेक ठाउँमा भाषण गर्दा विकास र समृद्धिको नमूना गोरखाबाट शुरु गर्छु भन्नुभएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ