arrow

राष्ट्रपतिको निर्वाचनमा एमालेको विकल्प खोज्न प्रचण्डलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
prachanda-pm-final-always.jpg

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिको निर्वाचनमा भने एमालेको विकल्प खोज्न आग्रह गरिएको छ । नेकपा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान भेटघाट गर्दै त्यस्तो आग्रह गरेका हुन । 

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आइतबार मध्यान्ह उनीहरुबीच  एक घण्टा कुराकानी भएको थियो । बिदाको दिन पनि उनीहरुबीच सिंहदरबारमा भेटघाट भएको थियो । ‘सभामुखको निर्वाचनमा कांग्रेसलाई बाहिर राख्दा राष्ट्रिय सहमति बन्न सकेन अब चाहिँ काँग्रेस वा कांग्रेसबाहिरबाट स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउन प्रस्ताव गरिएको छ’, स्रोतले भन्यो ।

त्यतिमात्र होइन माओवादीसँग पार्टी एकताको विषय पनि चलिरहेका कारण त्यो विषयमा पनि छलफल स्रोतको दाबी छ । राष्ट्रपति, सभामुखलगायत संवैधानिक पदमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको चाहनाका बाबजुद उक्त प्रयास असफल भएलगत्तै दुवै नेताहरुबीच भेटघाट हुनुले दुवै पार्टीभित्र कौतुहलता बढाएको छ । 

 प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति र सभामुखमध्ये एक पद आफूले पाउनुपर्ने दाबी गरेको थियो । त्यसमा प्रचण्ड सहमत रहेको चर्चा  गरेर सभामुखमा एमालेलाई सहयोग गरेका थिए । प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयनमा सहमति नहुँदा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि कांग्रेसले माओवादीलाई विश्वास गर्ने आधार भेटेको थिएन । 

कांग्रेस नेताहरूले अहिलेको सत्ता गठबन्धन राष्ट्रपतिको निर्वाचनसम्म मात्रै जाने दाबी गरिरहेका बेला प्रतिपक्षी गठबन्धनका शीर्ष नेतासमेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रपतिमा एमालेबाहेक अन्य नेताहरूलाई खोज्न गरिएको आग्रहलाई राजनीतिक वृत्तमा चासोको साथ हेरिएको छ ।  तत्कालीन पाँच दलीय गठबन्धन टुटेर प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेकोमा समाजवादीका अध्यक्ष नेपाल असन्तुष्ट भएका बेला उनी प्रचण्डलाई एमालेको कब्जाबाट बाहिर आउन आग्रह गर्दै आएका छन् । 

माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँगको भेटलाई नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले दुवै नेताको भेटलाई आश्चर्य मान्नु नपर्ने बताएका छन् । ‘राजनीतिक समसामयिक विषयहरू हुन्छन्, भर्खर सभामुखको निर्वाचन सकिएको छ, नयाँ सरकार बनेको विभिन्न राजनीतिक दलहरूले पार्टी एकता  र सहकार्यको विषय चलिरहेको सन्दर्भहरू धेरै छन्’, उपमहासचिव तुलाधरले भने । 

यसअघि माधव नेपालले प्रचण्डलाई आँट गर्न आग्रह गर्दै आएका थिए । उनले प्रचण्ड संविधान विरोधी तत्वहरुको चङ्गुलमा फसेकाले प्रचण्डलाई त्यहाँबाट बाहिर निस्कन आँट गर्न सार्वजनिक रूपमै आग्रह गरेपनि प्रचण्डले सभामुख र उपसभामुखको निर्वाचनमा गठबन्धनलाई धोका दिएनन् । 

माधव नेपालसँगको भेटपछि प्रचण्डले स्थायी कमिटीको बैठक बोलाएका छन् । पार्टीको केन्द्रीय कार्यालयका अनुसार बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक आह्वान गरिएको छ । चुनाव अघि नै एससँग पार्टी एकीकरण गर्ने भनिएपनि माओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार बनाउने बेला माधव नेपाललाई छाडेर एमालेसँग गठबन्धन गरेपछि नेपाल चिसिएका छन् । 

उता एस पार्टी र जसपाबीच पार्टी एकीकरणका लागि दस्तावेज अध्ययन समिति बनाएको छ । तर एस र जसपाबीच पार्टी एकीकरणको कुनै सम्भावना नभएपनि अध्ययन समिति बनाइएको स्वयं एसका उच्च नेताहरू बत्ताउँछन् । उनीहरूले विचार मिल्ने भनेको एमाले र माओवादीनै भएकाले जसपासँग पार्टी एकता नहुने बताउँदै आएका छन् । 

एसक अध्यक्ष नेपालले पार्टीभित्रको मर्मलाई बुझेर प्रचण्डसँग एकता प्रयासका लागि पनि कुराकानी गरेको स्रोतको दाबी छ । तर प्रचण्डले बोलाएको स्थायी कमिटी बैठकमा भने बाबुरामको पार्टीसँग एकता गर्ने विषयमा छलफल हुने र एकताको निर्णय गरिने समेत एक माओवादी नेताले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ