arrow

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
NCP-united-socialist-madhav-nepal.jpg

काठमाडौं ।  नेकपा(एकीकृत समाजवादी) ले यही माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक काठमाडौँमा बोलाएको छ ।

बैठकमा राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन, समसामयिक प्रस्तावमाथि छलफल गरिने महासचिव डा वेदुराम भुसालले जानकारी दिए । पार्टीका विभिन्न तहका कमिटीले पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका र निर्माण गरेका धारणाकाबारे बैठकमा छलफल गरिनेछ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा बैठकमा छलफल गरिनेछ ।

पार्टी महासचिव तथा सङ्गठन विभागका प्रमुख भुसालको अध्यक्षतामा गत पुस ६ गते सम्पन्न विभागको बैठकले गरेका विभिन्न निर्णयलाई अन्तर सङ्गठन निर्देशन (असनी)– ३ मार्फत जारी गरेको छ ।

उक्त असनीले देशभरका पार्टी कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्देशन गरेको छ । पार्टी तथा सङ्गठनका कमिटी अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने, पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकामा यही चैत मसान्तभित्र कमिटी गठन गर्न निदेशन जारी गरेको छ ।

असनीअनुसार पार्टीका वडामा आगामी वैशाख १५ भित्र अधिवेशन गर्न तोकिएको छ । पालिका-विशेष इलाकामा वैशाख मसान्तभित्र, आगामी जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गर्ने, आगामी कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्नुपर्नेछ ।

सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका कमिटीलाई तत्काल सम्मेलन-अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न निर्देशन गरिएको असनीमा आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका जिल्ला सम्मेलन-अधिवेशन गरिसक्न उल्लेख गरिएको छ ।

आगामी चैत मसान्तभित्र सबै जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनका प्रदेश सम्मेलन-अधिवेशन गरिसक्न र आगामी जेठ मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका राष्ट्रिय सम्मेलन-अधिवेशन-महाधिवेशन गरिसक्न असनीमा भनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ