- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशीला उत्खननस्थलमा उद्यान बनाइने भएको छ ।
धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका-६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शीला अयोध्या र एक जनकपुर लगिएको थियो ।
गण्डकी प्रदेश सरकारले मधेस र मधेश प्रदेशले सङ्घीय सरकारमार्फत भारत सरकारलाई उपलब्ध गराएको शीला निकालिएको ठाउँमा उद्यान बनाउने तयारी गरेको नगरपालिकाले जनाएको छ ।
नगर उपप्रमुख ज्योति लामिछानेले देवशिला निकालिएको ठाउँको संरक्षण र प्रचार-प्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न स्मारकसहितको उद्यान बनाउन लागिएको जानकारी दिइन् ।
“मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई लक्षित गरेर देवशीला उत्खननस्थलको संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छौँ”, उनले भने, “आर्थिक स्रोतको खोजी र पूर्वाधारको सम्भाव्यता अध्ययनमा जुटेका छौँ ।”
देवशीला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । देवशीला लगिएपछि भारतबाट आएका तीर्थयात्रीले स्नान र अवलोकन गर्न थालेका छन् ।
हिन्दूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरुपको मूर्ति निर्माण गर्न शालिग्राम शीला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शीला लगिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ तथा तीन दशमलब पाँच फिट मोटाइका दुई शीला उपहार दिइएको हो ।
नगर प्रमुख सुरत केसीले देवशिला लिन आएका रामलीला मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज लगायतले स्मारक र उद्यान निर्माणमा सघाउने प्रतिबद्धता जनाएको बताए ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर आर्थिक स्रोत जुटाउन प्रस्ताव गरिने उनले बताए । स्मारक र उद्यानका साथै कालीगण्डकी नदीमा स्नान स्थल बनाउने योजना रहेको छ । कालीगण्डकी नदीका अध्येता कुलराज चालिसेले देवशिला उत्खननस्थल नजिकै फोहर फाल्ने ठाउँ स्थानान्तरण गर्नुपर्ने बताए ।
देवशिला अयोध्या लैजानका लागि समन्वय गरेका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधीले यो क्षेत्रको धार्मिक पूर्वाधार निर्माणमा सघाउन रामलीला मन्दिर निर्माण समिति र भारत सरकारले प्रतिबद्धता जनाएको बताए ।