arrow

प्रचण्डको टाउकोमा आधा दर्जन मन्त्रालयको भारी, जसपा र नेकपा एसलाई सुम्पने तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
prachanda-madhav-upendra.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले करिब आधा दर्जन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । प्रचण्डलाई आइतबारबाट अरु दुई वटा मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । यसअघि गृह मन्त्रालयकोसमेत जिम्मेवारी लिएका प्रधानमन्त्रीलाई शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि थपिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना मन्त्री र एक जना राज्यमन्त्रीले आइतबार बेलुकी राजीनामा बुझाएपछि ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई सम्हाल्न राष्ट्रपति विद्यादेवी भण्डारीले ताकेकी छिन् ।  ११ दिनअघि सोही पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले दिएको राजीनामापछि पनि कार्यभार प्रधानमन्त्रीलाई नै दिइएको हो ।

रास्वपाको बहिर्गमन भएसँगै प्रचण्डले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन गृहकार्य कुराकानी थालेका छन् । उनले सोमबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा छलफल गरिसकेका छन् । 

रास्वपाका सभापति रवि लामिछानेको नागरिकता प्रकरणबाट सांसद पद गुमेको थियो । उनले उपप्रधान एवं गृहमन्त्री पनि छाड्नु परेपछि आफ्नो अनुपस्थितिमा सरकारमा रहेका साथीहरुलाई समेत लिएर सरकार बाहिर राखेपछि खाली भएको मन्त्रालयमा प्रचण्डले जसपा र एसलाई सरकारमा ल्याउने चाहना राखेका छन् । 

रवि लामिछानेले आफूलाई गैरसांसदका रुपमा ६ महिने मन्त्री बनाउनुपर्ने मागलाई प्रधानन्त्री प्रचण्डले अटेर गरेपछि सरकारबाट बाहिरिएको रविको पार्टीले सम्हालेका मन्त्रालयमा जसपालाई उपप्रधानमन्त्री र एसलाई दुई वटा मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भएको स्रोतको दाबी छ । 

पार्टी निर्णय भन्दै आइतबार राजीनामा दिएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीको राजीनामा स्वीकृत भएपछि ती मन्त्रालयमा सिट खाली भएको छ।

‘सरकारबाट रास्वपा हटेपछि कुनै पनि बेला समर्थनसमेत फिर्ता लिन सक्ने आँकलन गर्दै प्रधानमन्त्री प्रचण्डले जसपा र समाजवादीलाई मन्त्रिपरिषदमा सहभागी गराउन पहल शुरु गरेका छन् । त्यसका लागि उपप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई खटाइएको छ’, स्रोतले भन्यो । 

स्रोतका अनुसार १२ सिट भएको जसपा र १० सिट भएको समाजवादीलाई सरकारमा सहभागी गराउँदा सरकार सुरक्षित हुने अनुमान प्रचण्डको छ । पुस २६ गते विश्वासको मत लिँदा प्रचण्डलाई २७५ मध्ये २६८ जना सांसदले विश्वासको मत दिएका थिए । 

त्यसमा जसपा र समाजवादीले पनि प्रचण्डलाई  विश्वासको मत दिएको हुनाले उनीहरुलाई रास्वपाको विकल्पमा सरकारमा सहभागी गराउन राजनीतिक रुपमा सहज भएको माओवादी पार्टीको निष्कर्ष रहेको छ । 

जसपा यसअघि नै मन्त्रिपरिषदमा सहभागी हुन इच्छुक भए पनि भागबण्डा नमिलेपछि रोकिएको थियो । रास्वपाका मन्त्री बाहिरिएपछि अब पाँचवटा मन्त्रालय रिक्त हुन पुगेका छन् । 

गृह, शिक्षा, श्रम तथा रोजगार, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय खाली छन् । प्रधानमन्त्रीले पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्न सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ