arrow

नेकपा एसलाई सरकारमा लैजान प्रचण्डको दौडधूप, ओलीलाई मनाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
prachanda-oli-balkot.jpg

काठमाडौं । अघिल्लो राति एमालेबाट विभाजित भई नयाँ पार्टी खोलेका माधवकुमार नेपालसँग भलाकुसारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगे । 

नेकपा एस पार्टीका अध्यक्ष नेपालले एमालेलाई कुनै पनि हालतमा राष्ट्रपति दिनु हुँदैन भनिरहेका बेला मंगलबार साँझ डेढ घण्टा प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए । कुराकानीको क्रममा सरकारमा सहभागी हुने विषय र राष्ट्रिपतिको सन्दर्भ जोडिएको थियो । 

साथै एमाले सरकारमा रहँदा एस पनि सहभागी हुने विषय अलि असान्दर्भिक रहेको एस पार्टीका अध्यक्ष नेपालले बताएका थिए । तर प्रधानमन्त्रीले एमाले अध्यक्षलाई मनाउन सकिने भन्दै सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतको दाबी छ । 

नेपालसँगको भेटको सन्दर्भलाई लिएर बालकोटमा ओलीसँग छलफल भएको स्रोतको दाबी छ । ओलीको बालकोटस्थित निवासमा भएको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको छ । 

राष्ट्रपति आफूले पाउनु पर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने अडान एमालेको कायमै रहेको तर प्रधानमन्त्रीले एस पार्टीलाई पनि सरकारमा ल्याउन जोड गरिरहेका छन् । गृह मन्त्रालय नपाएको झ्वाँकमा रास्वपा सरकारबाट बाहिरिइसकेको छ । त्यही झ्वाँकमा रास्वपाका अध्यक्ष रवि लामिछाने सञ्चारमाध्यममाथि खनिएका थिए । तर सरकारलाई दिएको समर्थन भने रास्वपाले फिर्ता लिएको छैन । 

सभामुख र केही महत्वपूर्ण मन्त्रालय पाइसकेको नेकपा एमाले भने प्रधानमन्त्री प्रचण्डलाई साथमा लिएर राष्ट्रपति पद पनि हात लिने रणनीतिमा छ । शक्ति बाँडफाँटको बेलामा पनि एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो । 

तर माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने निर्णय गर्दै एमालेलाई झस्का दिएको छ । एमालेबाटै राष्ट्रपति हुने भए पनि प्रचण्डले भने आफ्नो रोजाइको व्यक्तिलाई राष्ट्रपति बनाउन खोजिरहेका बेला एमालेभित्र शंका उपशंका उत्पन्न गराएको छ । 

राष्ट्रपतिकै सन्दर्भलाई लिएर सत्ता गठबन्धन संकटमा पर्न सक्ने राजनीतिक वृत्तिमा चर्चा चलेको छ । यतिबेला नागरिक उन्मुक्ति पार्टी, उपेन्द्र यादवको जसपा र रास्वपा सरकार बाहिर रहेकाले प्रचण्ड नेतृत्वको सरकारलाई अप्ठेरो भएको सहजै अनुमान गर्न सकिन्छ । 

सरकारलाई अप्ठेरो पर्ने अवस्था आएमा एमालेकै कारण बनेको सरकार एमालेकै कारण ढल्न सक्ने अर्को अनुमान पनि गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ