arrow

निरीह एमाले ! नेताहरुलाई टिकाटिप्पणी गर्न बन्देज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
uml-central-committee-meeting-ktm.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेभित्र राष्ट्रपति निर्वाचन र वर्तमान सरकारको गतिविधिबारे टिकाटिप्पणी गर्न अघोषित रुपमा बन्देज लगाइएको छ । 

पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका अध्यक्ष तथा पदाधिकारी र सदस्यहरु र अन्य शुभचिन्तकहरुलाई पनि तत्काल कुनै पनि प्रकारको नकारात्मक सन्देश प्रवाह हुने गरी टिप्पणी गर्न र गराउन बन्देज लगाइएको हो । 

राष्ट्रपति निर्वाचनलाई लिएर राजनीतिक समीकरण फेरबदलको संकेत देखा परेपछि एमालले कुनै पनि प्रकारका टिकाटिप्पणी नगरी संयमता अपनाउने नीति लिएको हो । 

अप्रत्याशित रूपमा निर्माण भएको सात दलीय सत्ता गठबन्धन दुई महिना नपुग्दै फुटतिर लम्केको छनक दिने धेरै घटनाक्रमहरू बढिरहेका छन् । 

राष्ट्रपतिको निर्वाचनमा सरकार नेतृत्व दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको बाटो रोज्नु, सत्तारूढ दल एमालेको कुरा प्रधानमन्त्रीले नसुन्नु, राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिनु जस्ता घटनाहरूले गठबन्धन फुटतिर लागेका संकेतहरू गरिरहेका छन् । 

फागुन २५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । ‘एमालेबाटै राष्ट्रपति’ एमालेको अहिलेसम्मका लागि अन्तिम ‘बटमलाइन’ हो । सत्ता गठबन्धन हुँदा पनि एमालेकै भागमा राष्ट्रपति परेको थियो । 

बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालकोटमा भेट हुँदा पनि सत्ता गठबन्धन भन्दा बाहिर नजाने गरी उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गर्ने गरी कोर्स अगाडि बढेको सन्देश प्रवाह गरिएको छ  ।

‘राष्ट्रपतिको निर्वाचनसम्म एमालेका नेताहरुले यसबारेमा कही कतै टिकाटिप्पणी गर्ने छैनन्’, एमालेका एक पदाधिकारीले भने । 

एमालेले सभामुख लिइसकेको र रास्वपाले उपसभामुख लिइसकेको तथा सहमति कार्यान्वयन हुँदै गएको अवस्थामा एमालेले जसरी पनि राष्ट्रपति लिन चाहन्छ । 

सभामुख र राष्ट्रपति एमालेको हुने र अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए देश एमालेको पार्टीको कब्जामा हुने भयले अन्य पार्टीमा चिन्ता शुरु भएको छ । 

यद्यपि साढे २ वर्षपछि सभामुखमा फेरबदल आउने सहमति छ । त्यतिबेला माओवादीले सभामुख पाउने सहमति भएकाले एमालेको हिसाबकिताबले मात्रै देश चन्दैन भन्नेमा माओवादीका नेताहरु भए पनि मनमा कहीँ न कहीँ शंशय बोकेर एमालेलाई राष्ट्रपति छाड्न हुन्न भन्ने पक्षमा माओवादी नेताहरु रहेका छन् । 

एमालेको विविध योजना माओवादीसहित अन्य दलले बुझेका कारण अहिले नै राष्ट्रपतिको विषयमा शंशय उत्पन्न भैरहेको एक माओवादी नेताको दाबी छ । 

‘एमाले बाहेकबाट राष्ट्रपति, माओवादी, कांग्रेस, एकीकृत समाजवादी र जसपा लगायत दलको साझा लाइन बनेको अवस्था छ । यद्यपि माओवादीले तत्कालै कुनै निर्णय गरिहाल्ने अवस्था छैन । स्थायी कमिटीले एउटा निर्णय गरिसक्यो’, ती नेताको दाबी छ  । 

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको ‘रबरस्ट्याम्प’ भूमिकामा र विपक्षीहरुलाई गरेको व्यवहारले देशले भोगेको अनेक पीडा आलै भएकाले पनि माओवादी, कांग्रेस र एस पार्टी एक ठाउँमा उभिन सक्ने संभावना भएकाले एमालेले तत्कालै कुनै प्रकारको नकारात्मक सन्देश प्रवाह हुने किसिमले प्रस्तुत नहुने रणनीतिमा छ । 

एमालेबाट दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले राष्ट्रपति संस्थाको गरिमा र मर्यादा भुल्दै ओलीलाई साथ दिँदा असंवैधानिक रूपमा दुईपटक संसद विघटन भएको अहिले नै भूल्ने अवस्था नभएको माओवादी र एसका नेताहरुले बताउँदै आएका छन् । 

यसबाट अन्य दल एमालेलाई राष्ट्रपति सुम्पन तयार छैनन् । एमालेबाटै राष्ट्रपति हुँदा आइलाग्ने सम्भावित घटनाबारे माओवादी सहितका दल सचेत देखिएका छन् । सोही खतरालाई मध्यनजर गर्दै माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनिरहेको छ । 

अर्थात् एमालेबाट राष्ट्रपति हुँदैन भन्ने लाइनमा पुगेको भए पनि त्यसलाई प्रचण्ड वा माओवादीका नेताहरुले आफ्नै मुखबाट बोल्न तयार छैनन् । 

सत्तारूढ दल माओवादीको यो लाइनबाट एमाले सबैभन्दा धेरै झस्केको छ । अध्यक्ष ओली पूर्वसहमति अनुसार एमालेको उम्मेदवार नै राष्ट्रपति बन्नुपर्ने अडानमा छन् । 

वर्तमान सत्ता गठबन्धन बन्दा एमालेलाई राष्ट्रपति दिने सहमति भएको विषय भने सार्वजनिक भए पनि माओवादीले कांग्रेसकोसमेत विश्वास आर्जन गरेका बखत राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठान गरेर एमालेलाई तर्साउन मात्रै होइन उस्तै परे गठबन्धन नै तोड्न सक्ने गरी अघि बढ्नेमा एमाले सशंकित रहेको छ । 

निर्वाचन अगाडिको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्न पुग्दा र प्रचण्ड प्रधानमन्त्री बन्दासम्म परिस्थिति सामान्य नै थियो । तर प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म आइपुग्दा परिस्थितिले नयाँ आकार ग्रहण गरेपछि एमालेले त्यसै दिनबाट बढी शंका गर्न थालेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ