arrow

एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रममा समेटिए पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
ncell-engineering-students.jpg

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) का पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई प्रदान गरेको छ । 

एनसेलले यस कार्यक्रम अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको हो । 

पुल्चोक क्याम्पसका क्याम्पस चिफ एसोसिएट प्राडा इन्द्रप्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्त रूपमा गत शुक्रबार विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका हुन् । 

एनसेलका चिफ टेक्निकल एन्ड इन्टरप्राइज बिजनेस अफिसर अदिल ईस्रार, स्ट्राटेजी डाइरेक्टर इफ्तखार इस्लाम, कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखालक्ष्मी खड्काले विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको केन्द्रीय कार्यालय एनसेल आइकन, लैनचौरमा आयोजित एक विशेष कार्यक्रमबीच विद्यार्थीका अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक, एनसेलका व्यवस्थापनका सदस्य र अरू पाहुनाहरूको उपस्थितिमा प्रदान गरिएको थियो ।

यस वर्षका लागि १८ वटा शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै, उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।

हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको राशि एक लाख रुपैयाँ रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियरिङ अध्ययन संस्थानका कार्यवाहक डीन प्राडा सुशील बज्राचार्यले भने, “एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान स्थापना गरी प्रत्येक वर्ष यसरी हाम्रा विद्यार्थीलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गरिदिनुभएकोमा हामी धेरै आभारी छौँ । यो एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम आफैँमा एक उदाहरण बनिसकेको छ । एनसेल सञ्चारमा मात्र नभई कम्पनीले विभिन्न क्षेत्रमा गर्ने सामाजिक पहलहरूका लागि पनि लोकप्रिय छ ।”

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘‘देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) सँगको सहकार्यमा २०७१ सालदेखि विद्यार्थीहरूले प्राप्त गरेको नतिजाको आधारमा उनीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै युवा प्रतिभाको विकासमा योगदान पुर्‍याउन पाउँदा हामी खुशी छौँ । एनसेलमा हामी दिगो विकास लक्ष्यानुरूप सरकारले परिभाषित गरेका तीनवटा क्षेत्रहरूलाई उच्च प्राथमिकता दिन्छौँ । शिक्षा हाम्रा लागि महत्त्वपूर्ण भएकोले हामी यस पहललाई निरन्तरता दिन तत्पर छौँ ।”

०७१ सालदेखि सुरु गरिएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ