arrow

आमाहरूको अभियानः मदिरा र जुवातासमा रोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
malika gaunpalika.jpg

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-५ मगरदाङ्मा ‘मदिरा सेवन र बिक्री वितरणसँगै जुवातास खेल्न रोक’ लगाइएको छ । स्थानीय मगरदाङ आमा समूहले गाउँभेलामार्फत सामाजिक नीति नियम तयार गरेर लागू गरेका हुन् । 

समाजमा भएका विकृति विसङ्गतिलाई हटाउँदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ गाउँमा मदिरा सेवन र बिक्री वितरण तथा जुवातास खेल्न रोक लगाइएको आमा समूहका अध्यक्ष राजमति बुढाले बताइन् । ‘‘युवा कुलतमा फस्दा  सिङ्गो समाजलाईनै प्रभावित बन्ने गरेको छ, सार्वजनिक स्थानमा मदिरा सेवन र बेचबिखन गर्नेलाई जरिवानै तोकेका छौँ’’, अध्यक्ष बुढाले भनिन् । 

महिलालाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसङ्गतिको अन्त्यको लागि सक्रिय समूहले समाजमा जुवातास खेल्न तथा मदिराजन्य पदार्थको सेवन गर्न निषेध गरेको आमा समूहले जनाएको छ । गाउँभरिका पसलमा सिसा, बियर तथा रक्सीका कुनैपनि सामग्री लिएर बेचविखन गर्न नपाइने नियम बनाइएको अध्यक्ष बुढाले जानकारी दिइन् ।

समाजलाई सभ्य बनाउन र विकृति नियन्त्रण गर्न समूहले चालेको अभियानलाई सार्थक बनाउनुपर्ने  निर्वतमान वडाध्यक्ष समेत रहेकी स्थानीय अगुवा पिपला बुढाले बताइन् । उनले समाज परिवर्तन र रुपान्तरण सबैको साझा दायित्व भएकाले आमा समूहले सञ्चालन गरेको अभियानमा सबैले साथ दिनुपर्ने बताइन् । 

आमा समूहले मदिरा लगायतका मध्यपानको हानि र असरको बारेमासमेत टोल र बस्तीस्तरमा सचेतना अभियान सञ्चालन गर्न शुरु गरेको छ । 

घरघरमा पुगेर मध्यपान र जुवातासमा लगाइएको निषेधको बारेमा जानकारी गराउने र अटेर गर्नेलाई जरिवाना सहितको कारबाही गरिनेबारेमा सचेतना जगाउन थालिएको आमा समूहकी सचिव  स्थानीय शिक्षिका सुनिता पुनले बताइन् । 

उनका अनुसार कसैले नियमविपरीत कार्य गर्ने गराउने तथा रक्सी खाएर समाजमा होहल्ला, झै-झगडा तथा अशान्ति फैलाउने गरेमा पहिलो पटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रो पटकमा रु १५ हजार जरिवाना गर्ने र प्रहरी प्रशासनलाई जिम्मा लगाउने नियम बनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ