- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. प्रकाशशरण महतले नेपालमा एनजीओ-आईएजीओमार्फत शिक्षा, स्वास्थ्यका शीर्षकमा अर्बाैं पैसा आएर धर्म प्रचार भइरहेकोमा सचेत हुन आवश्यक रहेको बताएका छन् ।
बुधबार सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे बोल्दै उनले यो सन्दर्भ पनि यस अन्तर्गत राखिनु पर्ने बताएका हुन् ।
यो विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनेको बताउँदै उनले अझै पनि यसमा थप छलफल एवं संशोधन हुनु पर्ने बताएका छन् । उनले यसमा धेरै कुरा छुटिए पनि दफाबार छलफलमा संशोधन नै ल्याउनु पर्ने बताउँदै एनजीओ सेक्टरको भूमिका अन्त्यन्त महत्वपूर्ण रहेको बताएका हुन् ।
उनले वैदेशिक एनजीओहरु नेपालमा ठूलो मात्रा काम गरिरहेको बताउँदै सामाजिक जागरण, शैक्षि गतिविधि भनेर पैसा आउने गरेको र त्यसको व्यापकरुपमा दुरुपयोग भइरहेको बताएका हुन् । उनले भनेका छन्, 'हाम्रो संविधानले आफआफ्नो धर्म मान्ने पूर्ण स्वोतन्त्रता हरेक नागरिकलाई दिएको छ, तर पैंसाको प्रलोभनमा गलत कुरा गरेर धर्मान्तरण गर्ने छुट दिएको छैन्।'
केही दिन अघि बीबीसीले धर्म प्रचार गैरकानूनी रहे पनि नेपालमा कसरी विश्वकै तीव्र गतीमा क्रिश्चियन धर्मकाे प्रचार भइरहेकाे छ भन्नेबारे रिपाेर्ट प्रकाशित गरेकाे थियाे।
उनले अघि भनेका छन्, 'तर अर्बौं पैसा नेपालमा एनजीओको नाममा, विकासको नाममा, शिक्षाको नाममा, स्वास्थ्यको नाममा हेडिङ चाहि त्यो हुन्छ, तर गतिविधि अर्कै भइराखेको छ। यो पनि फाइनान्सियल दुरुपयोग हो, यो विषयलाई पनि मनि लाउण्डरिङ अन्तर्गत विधेयकमा राख्नुपर्छ।'
यस्तै उनले सामाजिक दुर्भावना फैलाउने काम भइरहेकोसमेत बताएका छन् । उनले अघि भनेका छन्, 'हाम्रो आफ्नो सनातन धर्म संस्कृति छ, बौद्ध धर्म संस्कृती छ, किरात धर्म संस्कृति, पाखीर धर्म संस्कृति छ। हजारौं वर्षदेखि चलिआएको हाम्रो ज्ञान छ। यी तमाम विषयमाथि खुलेआम आक्रमण हुन थालेको छ ।'
उनले भने, 'त्यसमा वैदेशिक पैसाको ठूलो भूमिका छ । त्यसलाई पनि मनि लाउण्डरिङको शीर्षकभित्र कानूनी सुनिश्चिता गर्नुपर्छ, जसरी क्यासिनो, कोअपरेटिभ, सुनचाँदी सेक्टर छ त्यसरी नै एनजीओआइएनजीओलाई पनि यसभित्र ल्याउनुपर्छ।'