विश्व व्यापार सङ्गठनबाट सुविधा पाउन नेपालले पहल गर्ने
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
604
Shares
काठमाडौं। सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेको नेपालले त्यसपछि पनि विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मार्फत पाइरहेका सुविधाको निरन्तरताका लागि पहल गर्ने भएको छ । अतिकम विकसित मुलुकका रुपमा हाल पाइरहेका सुविधा स्तरोन्नतिपछि हट्ने भए पनि ती सुविधाको निरन्तरताका लागि पहल गर्ने भएको हो ।
स्तरोन्नतिपछि गुमाउने व्यापारलगायत क्षेत्रका सुविधाको निरन्तरताका लागि पहल गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए । कतारको दोहामा यही मार्च ४ देखि ९ सम्म चलेको ‘अतिकम विकसित राष्ट्रहरुको पाँचौँ शिखर सम्मेलन’मा पनि नेपालले उक्त विषय उठाएको उनको भनाइ छ । सम्मेलनमा नेपालले अतिकम विकसित मुलुकको अन्तर्राष्ट्रिय व्यापार अभिवृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेको मरासिनीले बताए ।
विश्व व्यापार सङ्गठनले प्रदान गरेका अन्तर्राष्ट्रिय व्यापार, बौद्धिक सम्पत्तिलगायतका क्षेत्रमा दिइदै आएको सहुलियत स्तरोन्नतिको सङ्क्रमणकालीन अवधिपछि बन्द हुनेछन् । जसकारण नेपालको निर्यात घट्ने अनुमान गरिएको छ । अहिले पाइरहेका सुविधाको निरन्तरतासँगै आफ्नो व्यापार नीति पनि परिवर्तन गर्दै लैजानुपर्ने सचिव मरासिनीको भनाइ छ । “स्तरोन्नति भएपछि हामीले व्यापारमा पाइरहेका विशेष सुविधा गुम्छन् । पाइरहेका सुविधाहरु एकैचोटि हटाउनुभन्दा बिस्तार–बिस्तारै हटाउँदै जाने र सँगसँगै क्षमता वृद्धिका काम पनि गर्दै जानुपर्नेमा जोड दिएका छौँ”, सचिव मरासिनीले भने ।
यस्ता सुविधा जोगाइराख्न नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि नयाँ क्षेत्र तथा बजार पहिचान गरी व्यापारको विविधीकरण गर्नु आवश्यक रहेको उनको भनाइ छ । “स्तरोन्नतिपछि नेपालको व्यापार नीति कस्तो हुने भन्ने स्पष्टतासँगै नयाँ वस्तुको उत्पादन र बजारीकरणमा केन्द्रित हुनुपर्छ । तुलनात्मक लाभ रहेका वस्तु पहिचान, त्यसको उत्पादन र बजारीकरणका लागि अहिले नेपाललाई अवसर पनि छ”, उनले बताए ।
डब्ल्युटिओअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)ले गरेको प्रक्षेपणअनुसार अतिकम विकसित मुलुकबाट स्तरोन्नतिपछि नेपालको हालको निर्यात ४ दशमलव ५ प्रतिशतसम्म घट्नसक्ने देखिएको मरासिनीले जानकारी दिए । उनका अनुसार दिगो स्तरोन्नतिका लागि अझ बढी मेहनत गर्नुपर्नेछ ।